arrow

पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा

logo
रासस,
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
Bhimdatta_Nagarpalika5.png
फाइल तस्बिर

कञ्चनपुर। पर्यटन प्रवर्द्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ । नगरपालिकाले पाँच वर्षको अवधिमा पर्यटकको सुविधाका लागि सडक, पुल, पदमार्ग निर्माणसँगै नयाँ पर्यटकीय गन्तव्यको पहिचानको काम पनि गरेको छ । पर्यटन महोत्सव आयोजना गरी शुक्लाफाँटा निकुञ्जमा पर्यटकको आवागन बढाएका छौँ”, नगरप्रमुख सुरेन्द्र विष्टले भने, “नगर पर्यटन विकास समिति गठन गरी पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ ।” उनका अनुसार ७७ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी गड्डाचौकी नाकामा ७७ फिट अग्लो स्तम्भमा नेपालको झन्डा राखी उद्यान निर्माण गरिएको छ।

नगरपालिकाको १९ वटै वडाको प्रतिनिधित्व हुने गरी वडा नं १ स्थित रौटेला धाममा १९ फिटको त्रिशूलसहित उद्यान निर्माण गरिएको छ । झोलुङ्गे पुलमा  सौर्य बत्ती जडान गरिएकाले राति पर्यटकलाई पुल क्षेत्रमा हिँडडुल गर्न सहज भएको छ । भक्तजनलाई धार्मिक पर्यटकीय क्षेत्रमा सहजपुरले पुग्न बाटो निर्माण गरिएका छन् । रौटेला, विष्णु मन्दिर, भम्कनीधाम, झिलमिललगायत क्षेत्रलाई पाँच वर्षको अवधिमा सडक सञ्जालमा जोडिएको छ । नगरपालिकाका १९ वटै वडालाई जोड्नका लागि शुक्लाफाँटा पर्यटन मार्ग पनि निर्माण गरिएको छ ।

उक्त मार्गले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई सहज  भएको छ । बाह्रमासे झर्ना, कालिताल, कालोढुङ्गा, बाउन्ने कोठे दरबार, सेल्फीडाँडा, साइलेन्ट रिभर, खन्याखोला लिङ्गालगायत नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी संरक्षणका कार्यक्रम अगाडि बढाइएका छन् । बाह्रकुण्डा क्षेत्रका पुरिँदै गएका १२ वटा ताललाई पुरानै स्वरूपमा फर्काइ पानी भरिएको नगरप्रमुख विष्टको भनाइ थियो ।

महाकाली नदीको बहु उपयोगअन्तर्गत महाकाली नदीमा र्‍याफ्टिङ सफल परीक्षण पछि खल्लाका १५ युवालाई र्‍याफ्टिङसम्बन्धी तालिम प्रदान गरिएको छ । महाकाली नदीको सुनसान क्षेत्रमा  पर्यटकीय सम्भावनाको स्थल पहिचान गर्नाका साथै  र्‍याफ्टिङका माध्यमबाट प्रचारप्रसार पनि गरिएको छ ।

“नगरपालिकाको वडा नं ९ ब्रह्मदेवमा बहु सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ”, उनले भने, “सङ्ग्रहालय निर्माणमा सहयोग गरेका छौँ । यसबाट यस क्षेत्रको रहनसहन, संस्कृति, सामाजिक परिवेश, धार्मिक कार्यबारे आन्तरिक तथा बाह्य पर्यटकले जानकारी लिन सक्ने छन् ।”चुरे फेदीमा रहेको रमणीय पर्यटकीय क्षेत्र झिलमिलामा पर्यटकको सुविधाका लागि सौर्य बत्ती र पदमार्ग निर्माण  गरिएको छ । भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणका लागि नगरपालिकाका तर्फबाट रु ५० लाख उपलब्ध गराइएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ठुलो बथानका रूपमा रहेको बाह्रसिङ्गालाई चिनाउन प्रचारप्रसारसँगै नगरको ब्रान्ड घोषणा गरिएको छ । महाकाली नदीमाथिको झोलुङ्गे पुल हेर्न पुग्ने पर्यटकको सहायताका लागि नदी किनारमा सजावट  तथा भौतिक संरचना निर्माण गरिएको छ । नदी किनारामा स्मार्ट शौचालय, स्मार्ट लाइटसँगै डिजिटल साइनेज तथा सूचना बोर्डको व्यवस्था गरिएको छ । पर्यटकीय क्षेत्रको विकासमा योगदान गर्दै आएको नगरपालिकालाई पर्यटन प्रवर्द्धन सङ्गठन (टिपिओ) को सदस्यतासमेत उपलब्ध गराइएको छ ।
 
नगरपालिका क्षेत्रको पर्यटकीय क्षेत्रका रूपमा रहेको विष्णु मन्दिरदेखि राई ढुङ्गासम्म आठ किलोमिटर सडकको ट्याक खोलिएको छ । नगर क्षेत्रको सुविधाका  लागि १७२ वटा सौर्य सडक बत्ती जडान गरिएका छन् । 

यसै गरी नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको  संयुक्त लगानीमा उज्यालो भीमदत्त अभियानअन्तर्गत (स्मार्ट लाइट) महेन्द्रनगर बजारका मुख्य चोक (पुष्पलाल चोक, बसपार्क, बाह्रसिङ्गा चोक, झोलुङ्गे पुल, नगरपालिका कार्यालय परिसर, मदन चोक)मा स्मार्टलाइट र क्याम्पस रोडमा सौर्य बत्ती जडान गर्न थालिएको छ । 

यस क्रममा नगर क्षेत्रभित्रका ८४ वटा मन्दिरमा पूर्वाधारका संरचना निर्माण एवं मर्मत  गरिएको नगरपालिकाका इन्जिनियर हिमालय ऐरले बताउनुभयो । उहाँका अनुसार पर्यटकलाई आराम गर्न ११ वटा चौतारा निर्माण गरिएका छन् । नगरपालिकाको वडा नं १, २, ४, ८, ९, ११, १३, १४, १६ र १८ मा गरी ११ वटा पार्क निर्माण गरिएको छ । उनन्तीस किलोमिटर धार्मिक पर्यटन मार्गको दुई दशमलव पाँच किलोमिटर क्षेत्रमा कालोपत्रे गरिएको छ । 

बाँकी क्षेत्रमा निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत सडक डिभिजन कार्यालयको सहकार्यमा ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको इन्जिनियर ऐरले जानकारी दिए।  पाँच वर्षकै अवधिमा शुक्लाफाँटा पर्यटन मार्गको पाँच दशमलव ७५ किलोमिटर क्षेत्रमा कालोपत्रे गरिएको छ । जिल्ला र नगरलाई हवाई सेवाद्वारा जोड्न र पर्यटक भित्र्याउन मझगाउँ विमानस्थललाई सङ्घ, प्रदेश, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको सहलगानीमा विमानस्थल पुनः निर्माण गर्न थालिएको छ । नमुना सडक तथा सडक सौन्दर्य  बढाउन सिद्धनाथ विज्ञान क्याम्पस मार्गमा रोड साइड गार्डेनिङ बनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ