प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि : नेपाल राष्ट्र बैङ्क
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
943
Shares
फाइल तस्बिर
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७८-७९ को फागुन मसान्तसम्म सरकारको चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता फागुनसम्मको अवधिमा ३ अर्ब ८८ करोडले घाटामा रहेको छ।
फागुन महिनासम्ममा पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशतले कमी आई ७ अर्ब कायम भएको राष्ट्र बैङ्कले जनाएको छ। सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि भई १६ अर्ब ३० करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ९१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब १८ करोड रहेको थियो।
राष्ट्र बैङ्कका अनुसार २०७८ फागुनसम्ममा शोधनान्तर स्थिति २ खर्व ५८ अर्ब ६४ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति फागुनसम्म आइपुग्दा २ अर्ब १७ करोडले घाटामा रहेको छ।