सुबिसुले सञ्चालनमा ल्यायो नेपालकै सबैभन्दा ठूलो मोडुलर डेटा सेन्टर
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
699
Shares
काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले नेपालकै सबैभन्दा ठुलो मोडुलर डेटा सेन्टर सञ्चालनमा ल्याएको छ। महामारीबिच कम्पनीले करिब दुई वर्ष लगाएर बालुवाटारमा तयार पारेको डेटा सेन्टर औपचारिक रूपमा प्रयोगमा आएको हो।
डेटा सेन्टरका लागि आवश्यक र्याक, स्विच लगायतका सबै सामग्री भर्टिभबाट ल्याइएको कम्पनीका प्रमुख प्राविधिक अधिकृत (सिटिओ) रामकृष्ण परियारले जानकारी दिए। करिब अढाई वर्ष अघि आगलागी भएको सुबिसुको कार्यालय नजिकै नयाँ डेटा सेन्टर तयार पारिएको छ।
आधिकारिक रूपमा डेटा सेन्टरको स्तर मापन नगरिएको भए पनि टियर २.५ रहेको परियारको भनाई छ। ‘कम्पनीका ग्राहकको सेवालाई स्तरीय बनाउने मुख्य उद्देश्यका साथ यो डेटा सेन्टर तयार पारिएको हो,’ उनले भने, ‘यसमा लोकल ब्यान्डविथका लागि कन्टेन्ट डेलिभरी नेटवर्क (सीडीएन) सर्भरहरू पनि राखेका छौँ।’
डेटा सेन्टरमा वैकल्पिक पावर सप्लाइको व्यवस्था समेत गरिएको छ। समान आठ आठ र्याक रहेका दुई लाइनमा क्रमशः पहिलोमा ४० किलो वाट र दोस्रो लाइनमा ७० किलो वाट क्षमताको दोहोरो पावर सिस्टमको व्यवस्था मिलाइएको छ।
हाल डेटा सेन्टरमा १६ टेराबाइट प्रति सेकेन्ड डाउनलोड तथा अपलोड क्षमता भएको सर्भर राखिएको कम्पनीले जनाएको छ। जसमा ‘वान प्लस वान’ प्रोटेक्सन राखिएको छ। तत्कालका लागि सुबिसुकै सेवा स्तरीय बनाउन सञ्चालनमा ल्याइएको यो डेटा सेन्टर भविष्यमा माग अनुसार अन्य कम्पनी तथा संस्थालाई समेत प्रयोग गर्न दिने योजना रहेको परियारले बताए। डेटा सेन्टरका लागि छुट्टै नयाँ बिल्डिङ तयार पारिएको छ। जसले आठ रेक्टर स्केलसम्मको भूकम्प प्रतिरोध गर्न सक्ने बताइएको छ।
अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा आधारित यो डेटा सेन्टरमा ‘रिमोट एक्सेस’ बाट सञ्चालन गर्न सकिने सुविधा समेत रहेको छ। भर्टिभका लागि नेपालको आधिकारिक साझेदार समेत रहेको सुबिसुले अन्य कम्पनी तथा सङ्घ संस्थाका लागि समेत मोडुलर डेटा सेन्टर निर्माणको काम गर्दै आएको छ। ‘नेपालमा अहिलेसम्म नेपाल प्रहरी, राष्ट्रिय वाणिज्य बैङ्क, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अर्थ मन्त्रालयमा भर्टिभको मोडुलर डेटा सञ्चालनमा छ,’ सिटिओ परियारले भने, ‘तर सुबिसुले अहिले सञ्चालनमा ल्याएको डेटा सेन्टर भने नेपालमा भर्टिभको अहिलेसम्मकै ठुलो मोडुलर डेटा सेन्टर हो।’