पाटन दरबार संग्रहालयमा अर्गानिक कृषि मेलाको आयोजना हुने
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
706
Shares
काठमाडौं । ललितपुरको पाटन दरबार संग्रहालयमा चार दिने पाँचौँ प्राङ्गारिक कृषि मेलाको आयोजना गरिने भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अर्गानिक कृषि मेला अर्गानिक एशोसिएशन अफ नेपाल र कञ्चनजंगा टि-इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा २०७९ साल वैशाख १ गतेदेखि ४ गतेसम्म हुने जानकारी दिइएको हो ।
जल, जङ्गल, जमिन र जीवनलाई सुरक्षित राखी समाजलाई स्वास्थ्य राख्नको लागि उत्पादनदेखि नै ध्यान दिन आवश्यक भएकोले सबै प्रकारका कृषि उत्पादनहरू जैविक र वैदिक हुनुपर्ने जनाइएको छ । जसको उपभोगबाट मानिस निरोगी हुन सकोस् भन्ने मेलाको उद्देश्य रहेको छ ।
चार दिनसम्म चल्ने मेलामा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोग रहने संस्थाले जनाएको छ। त्यस्तै, स्टल बिक्रीबाट उठ्ने रकमबाट मेला सञ्चालन गरिने पनि बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कञ्चनजङ्घा टि-इस्टेट एण्ड रिसर्च सेन्टर तथा अर्गानिक नेपाल एशोेसिएशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनको लागि मेलाको आयोजना गर्न लागिएको बताए ।
‘अहिले बल्ल सरकारी निकायहरूले पनि अर्गानिकको लागि चेतना फैलाउन सुरु गरेका छन् ।’ उनले भने,‘सरकारले अहिले १२-१३ अर्ब खर्च गरेर फोर्टिलाइजर ल्याउँदै छ, त्यो रकम कृषिमा खर्च गरेमा नेपालले कृषिमा सस्टेन गर्न सक्छ । २-३ वर्ष पनि लाग्दैन । कृषिलाई आत्मनिर्भर बनाउन सक्छौँ । यो मल हामीले केमिकल विषादी ल्याउन पर्दैन् ।’
उनले संसार अहिले अर्गानिकको ट्रेनमा गइराखेको उल्लेख गर्दै उनले फर्टिलाइज र केमिकल प्रयोग गरेर खेती गर्ने प्रणालीलाई त्याग्दै गरिरहेको जिकिर गरे । संसारले अब उत्पादन गर्ने मेसिनहरू फाल्दै गएको पनि बताए ।
त्यस्तै, अर्गानिक एशोसिएसनका महासिच तथा मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले पहिला-पहिला नबुझेर मानिसहरू लागे पनि अहिले अर्गानिक कृषितर्फ बुझेर नै लागेको बताइन् ।
आफ्नो स्वास्थ्यमा सचेत भएका मानिसहरू अर्गानिक कृषितर्फ उन्मुख भएको उनले जिकिर गरिन् । सुरुवाती समयमा भन्दा दशौं गुणा मानिसहरू अर्गानिक कृषि फर्ममा भिजिट गर्न आउने पनि जानकारी दिइन् । गत वर्षहरूको मेलामा १ लाख भिजिटर आएको उल्लेख गर्दै अब हुने मेलामा विगतको भन्दा धेरै भिजिटर आउने विश्वास व्यक्त गरिन् । कोइरालाले मेलामा ५० भन्दा बढी स्टल राख्ने र ३० लाख खर्च अनुमान रहेको बताउँदै १ करोडको कारोबार हुने अपेक्षा संस्थाले राखेको सुनाइन् ।
मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्राङ्गारिक मल, च्याउ, डेरी उत्पादन, हर्बल उत्पादनहरू, मसलाहरू, चामल, गहुँ, मकै, दाल, फापरलगायतका अन्य उत्पादनहरू फलफूल, बिउ, विजन, मह, तेल, राडी, पाखीलगायतका अन्य कृषि उपजहरू तथा कृषि तथा वाणिज्य व्यापारसम्बन्धी प्रोजेक्टहरू राखिने भएको छ ।
कार्यक्रममा कन्ट्री अफ वर्ल्ड पिसका डा.किस्ली ब्रो ग्रोबल र लेस्ली ब्रो ग्रोबल मदर डिभाइनले पनि आफ्नो भनाई राखेका थिए । उनीहरूले कृषिका लागि नेपाल उपयुक्त भूमि भएको बताएका थिए । कृषिमा नेपालले धेरै ठुलो प्रगति गर्न सक्ने उनीहरूको विश्वास छ ।
कार्यक्रमको सञ्चालन बाँस्कोटा ग्रुप अफ इन्डस्ट्री प्राइभेट लिमिटेडकी निर्देशक समीक्षा बाँस्कोटाले गरेकी थिइन् । उनले पाँचौँ अर्गानिक मेलामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क प्रवेश गर्न सकिने जानकारी दिइन् ।