निर्मल पुर्जाको उपस्थितिमा तीन सहरमा कन्सर्ट गर्दै वर्ल्डलिङ्क
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
713
Shares
काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्री ‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको छ। कम्पनीले यही चैत १० गते चितवनमा तथा १२ गते पोखरामा र काठमाडौँमा ‘वर्ल्डलिङ्क कार्निभल २.०’ आयोजना गर्ने भएको हो । पुर्जा वर्ल्डलिङ्क कम्युनिकेसन्सका ब्रान्ड एम्बेस्डरसमेत हुन्।
हाल बेलायतमा रहेका पुर्जा १० गते नेपाल आइपुग्ने छन् । सोही दिन गृह नगर चितवन महानगरपालिकाले उनको सम्मानमा नगर परिक्रमा सहित विशेष कार्यक्रम आयोजना गर्नेछ । नारायणीतिरमा अपराह्न साढे ४ बजेदेखि हुने उक्त कार्यक्रमलाई वर्ल्डलिङ्कले मुख्य प्रायोजन गर्नेछ । त्यस क्रममा निर्मल पुर्जाको साथमा ठुलो स्क्रिनमा ‘१४ पिक्स’ डकुमेन्ट्री हेर्ने कार्यक्रमसमेत राखिएको छ । चितवनमा हुने कार्यक्रममा राजु लामा, स्वप्निल शर्माको गायन प्रस्तुतिसमेत रहनेछ ।
चैत १२ गते एकै दिन पोखराको मितेरी पार्क र काठमाडौँको भृकुटीमण्डपमा ‘वर्ल्डलिङ्क कार्निभल फेस्ट २.०’ आयोजना हुनेछ । बिहान ११ बजेदेखि नै सुरु हुने दुवै कार्यक्रममा निर्मल पुर्जाको विशेष उपस्थिति रहने र उनले आफ्नो भनाइसमेत राख्ने कार्यक्रम छ ।
कन्सर्ट राति ८ बजेसम्म चल्ने वर्ल्डलिङ्कले जनाएको छ । काठमाडौँमा हुने कार्यक्रममा स्वप्न सुमन, सविन राई एन्ड फरोजको प्रस्तुति, बिनु शाक्यको नृत्य, सुमन कोइरालाको स्यान्डअप कमेडी रहनेछ ।
त्यस्तै पोखरामा हुने कार्यक्रममा सुशान्त केसी एन्ड द ब्याङ्गर्स र प्रवेशकुमार श्रेष्ठको प्रस्तुति, सजन श्रेष्ठको स्ट्यान्डअप कमेडी, क्रिस्टल कलाज डान्स क्र्युको नृत्य आदि समावेश हुनेछन् ।
‘वर्ल्डलिङ्क कार्निभल २.०’ मा बेली डान्स, गेम जोन, फुड जोन, किड्स प्ले जोन, फेस पेन्टिङ लगायतका आकर्षणसमेत पाउन सकिनेछ । कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको वर्ल्डलिङ्कले जनाएको छ ।