arrow

‘कांग्रेसले जित्नु भनेको देशले जित्नु हो’ – अजयबाबु शिवाकोटी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
ajayababu-shiwakoti-nuwakot-2078-12-06.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसलाई जिताएर देशलाई जिताउन आग्रह गरेका छन् । नुवाकोटको एक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘कांग्रेसलाई जिताउँदै गर्दा व्यवस्था जित्छ भने कांग्रेस जिताउँ देश जिताउँ, यो मूल मर्मलाई हामीले मतदाता बीचमा भन्नुपर्नेछ ।’

२०७४ सालको चुनावलाई सम्झना गर्दै नेता शिवाकोटीले भने, ‘स्थानीय तहको चुनावमा हाम्रो दोस्रो स्थान देखियो । संघ र प्रदेशको चुनावमा ठूला कम्युनिष्टहरु एक ठाउँमा उभिँदा उनीहरु ठूलो दलको रुपमा स्थापित भए । तर नेकपाको करिब दुई तिहाईको सरकार तीन वर्ष पनि टिकेन ।’ 

उनले त्यो दृष्टान्त सुनाउँदै गर्दा तीतो सत्य ओकल्दै भने, ‘त्यो केबल बोकाको मुखमा कुभिन्डो भयो । आफ्नै धारले थिचिएका कम्युनिष्ट घटकहरु सत्ता चलाउने कुरामा उनीहरु काबिल छैनन् भन्नेकुरा स्थापित भइसकेको छ ।’ 

नेता शिवाकोटीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कम्युनिष्टले भोट माग्ने आधार र हैसियत गुमाएको पनि उनले स्पष्ट पारे । 

उनले अगाडि भने, ‘हामी बैशाख ३० को निर्वाचनको तालिका आइसकेपछि घर घर जाऔं कांग्रेस जिताउँ अभियानमा छौं । घर घर जाँदै गर्दा जागरण, उत्साह र एकताका कुराहरु लिएर जाँदैछौं ।’

त्यतिमात्रले नपुग्ने भन्दै नेता शिवाकोटीले भने, ‘यसबीचमा कम्युनिष्टका भ्रम, अफबाह र प्रोपगण्डा चिर्नुपर्नेछ । भ्रम र अफबाह बेच्दै उत्तेजना किन्ने एमालेसहितका कम्युनिष्टहरुको व्यापारिक चरित्र उदाङ्गो गर्नुपर्नेछ ।’

कांग्रेसले देशका लागि थुप्रै काम गरेको भए पनि प्रचारप्रसार गर्न नजान्ने बानीलाई स्मरण गर्दै नेता शिवाकोटीले भने, ‘नेपाली कांग्रेसले २००७ सालदेखि हासिल गर्दै आएका उपलब्धिलाई पनि जनताका बीचमा राख्नुपर्नेछ ।’

निष्पक्ष र धाँधलीरहित चुनाव केबल नेपाली कांग्रेसले मात्र गराउन सक्नै नजिर बसिसकेको बताउँदै उनले भने, ‘२०५४ सालको वामदेव गौतमले गरेको जस्तो चुनाव न त सभ्य समाजले स्वीकार्न सक्छ न त राजाले गरेको जस्तो चुनाव लोकतन्त्रले स्वीकार्न सक्छ । त्यसैले संसारले राख्ने भरोसा र विश्वास कांग्रेसलेमात्र गराउन सक्छ ।’

कांग्रेसले इमानदारीको कुनै परीक्षा दिन नपर्ने विगतले देखाइसकेको भन्दै नेता शिवाकोटीले ‘पटक पटक आफू हारेर पनि कांग्रेसले देशलाई जिताएको छ । यसपटक कांग्रेसलाई जिताउनु भनेको नै देशलाई जिताउनु भएकाले सबैले कांग्रेसलाई जिताउन लाग्नुपर्ने छ’ भने । 
उनले पुनः दोहोर्याउँदै भने, ‘कांग्रेसले जित्नु भनेको देशले जित्नु हो । कुनै शंका नगरी मतदातालाई कांग्रेसलाई बहुमतले जिताउन आग्रह गर्दछु ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ