देउवाको तर्फबाट ओलीलाई महतको जवाफ : तपाईको नेतृत्व साढे ३ वर्षमै असफल भइसक्यो
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
2.6k
Shares
सल्यान । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा.एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व राज्य सञ्चालनमा असफल भइसकेको बताएका छन् ।
पूर्व परराष्ट्र तथा ऊर्जा मन्त्री डा.महतले एमाले अध्यक्ष ओलीले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेको चुनाव चिन्हमा मतदान गरेर पुण्य कमाउन दिएको उपदेशको जवाफमा सो अभिव्यक्ति दिएका हुन् ।
नेकपा एमालेका अध्यक्ष ओलीमा काम गर्ने हैन, ठट्टा गर्ने बानी रहेको उल्लेख गर्दै उनले भने, ”राजनीति गर्ने मान्छेहरु देशको समृद्धि र जनताको सुख तथा सुविधालाई केन्द्रमा राख्ने हुनाले सधै गम्भीर हुन्छन । तर उहाँले हास्य कलाकारको जस्तो हसिमजाक बनाउनुभयो । शासन सत्ता सञ्चालन गर्न तपाई र तपाईको पार्टी असफल भयो । ५ वर्षलाई दिएको जनादेश साढे ३ वर्ष पनि टिकाउन सक्नु भएन ।”
नेपाली कांग्रेसका प्रवक्ता डा. महतले नेकपा एमालेका अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा प्राप्त गरेको झण्डै दुई तिहाईको समर्थन जोगाएर राख्न नसक्नु भएको, आफ्नै पार्टीलाई एकताबद्ध राख्न नसक्नु भएको र दुई तिहाईको समर्थन कायम रहँदा त्यसको दुरुपयोग गर्दै प्रतिनिधिसभा विघटन गरेकोले संविधानको रक्षा गर्न, देशमा कानूनी शासन बहाली गर्न, सुशासन कायम गर्न नेपाली कांग्रेस अग्रसर हुनु परेको पनि उल्लेख गरे ।