हेटौंडा। हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयका लफडा भएको छ ।
अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय राजनैतिक दलले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दी सँगै उनीहरूले वडाध्यक्ष श्रेष्ठ बस्ने कुर्सी सडकमा ल्याएर प्रर्दशन गरेका छन् ।
सेवाग्राहीको काममा ढिलाइ गर्ने, दुःख दिने, दिनभर काम नगरेर अन्यत्र जाने, काम गरिदिए बापत एमालेको सदस्यता लिनुपर्ने जस्ता गतिविधि गरेपछि बाध्य भएर आन्दोलित भएको नेपाली कांग्रेस हेटौंडा–८ का सभापति भूपेन्द्र कोइरालाले जानकारी दिए ।
यसअघि नै पदीय मर्यादा कायम राखेर काम गर्न र पक्षपात नगर्न सुझाव दिए पनि अटेर गरेको आन्दोलनमा उत्रिएका राजनैतिक दलको भनाई रहेको छ । उनीहरूले वडाध्यक्ष श्रेष्ठ चुनाव केन्द्रित भोट सङ्कलन र कमाऊ अभियानमा लागेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका पार्टीका नेता कार्यकर्ताहरूले श्रेष्ठले व्यवहार सुधार नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।