arrow

एमालेको नाराबाजीकाबीच लेखा समितिको प्रतिवेदन पेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
narabaji.png

काठमाडौं ।  प्रतिनिधि सभाको आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले “सार्वजनिक लेखा समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन, २०७८” पेश गरेका छन् । 

बैठकको प्रारम्भमै नेकपा (एमाले)का सांसदहरूले नाराबाजी गर्दै ‘बेल’ घेराउ गरेका थिए । नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसद डा भीमबहादुर रावललाई बोल्ने समय दिएका थिए  । 

सांसद रावलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका केही असन्तुष्टि सम्बोधन हुनुपर्ने धारणा व्यक्त गर्दै अनुमोदनपछि एमसीसी कार्यान्वयनको अवस्थाबारे जनताले जानकारी पाउनुपर्ने बताए ।

साथै उनले भारतीय पक्षबाट नेपालको पश्चिम सिमानामा एकतर्फी रूपमा तटबन्ध निर्माण गरिरहेको उल्लेख गर्दै त्यसबारेमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद रावलले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता ल्याउन सरकारले गरेका प्रयास बारेमा पनि जानकारी माग गरेका थिए ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको सिमानामा भारतले एकतर्फी रूपमा तटबन्ध निर्माण गरिरहेको सम्बन्धमा नेपाल सरकार किन बोल्दैन भनी प्रश्न गरे । 

साथै उनले सिमाना विवाद समाधानका बारेमा के पहल भइरहेको छ भनी सभामुखमार्फत सरकारसँग जानकारीको माग गरे । प्रतिनिधि सभाको अर्को बैठक आगामी चैत २ गते १ बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ