सन्तनेताको नाममा ‘किसुनजी स्मृति म्याराथन’, चैतमा आयोजना
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
719
Shares
काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको तत्वावधान तथा बागमती प्रदेश संघको आयोजनामा दोश्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता २०७८ चैत १९ गते हुने भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो । नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) को स्मृतीमा संघले दोश्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।
देशभर रहेको प्रतिभावान खेलाडीहरुलाई अवसर प्रदान गर्ने, भाइचारा र आपसी सहयोगको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा खेलकुदलाई व्इवसायीकरण गर्ने प्रतियोगिताको उद्धेश्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
अनुमानित ११ लाख लागत रहेको प्रतियोगिताका विजयी खेलाडीहरुले नगद ५० हजार, उपविजयी खेलाडीहरुले नगद ३० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद २० हजार प्राप्त गर्ने छन् ।
अघिल्लो संस्करणको तुलनमा यस पटक पुरस्कार राशिलाई दोब्बर बनाइएको समेत पत्रकार सम्मेलनमा अध्यक्ष दीपक गुरुङ्गले जानकारी गराए । यसका साथै खेलकुदका साथै खेलकुदमा जीवन ब्यतित गर्ने, खेलको विकास र विस्तारमा योगदान पुर्याउनेहरुलाई पनि सम्मान गर्ने उद्धेश्यले खेलकुद क्षेत्रमा विशेष योगदान गर्ने खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाईसमेत नगदसहित सम्मान गरिने आयोजकले जनाएका छन् ।
नेपाली कांग्रेसका नेताहरुको नाममा खेलकुद आयोजना गर्दै खेलकुद र राजनीतिलाई जोड्ने नीति अनुरुप नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले खेललाई अग्रस्थानमा राख्दै विभिन्न प्रतियोगिताका साथै अन्य सामाजिक कार्यमा पनि कार्य गर्दै आइरहेको अध्यक्ष गुरुङ्गले जानकारी गराए ।
यस्तै कार्यक्रममा बोल्दै नेपाल एथलेटिक्स संघका सचिव एवं प्राविधिक आरके विष्टले प्रतियोगितालाई निरन्तरतामा मात्र दिनु नभइ हाफ म्याराथनलाई निरन्तरता प्रदान गर्नुले छोटो दूरीका खेलाडीहरुले प्रोत्साहान प्राप्त गर्ने महत्वपूण रहेको बताए ।
उनले यस प्रतियोगितालाई संघको स्वीकृति प्रदान हुने र आगामी दिनमा संघको क्यालेन्डरमा नै समावेश गराउनेतर्फ पहल हुने बताए । प्रतियोगिताको पहिलो संस्करण २०७७ चैत महिनामा नै आयोजना भएको थियो ।
प्रतियोगिताको रुट गोल्फुटार बास्केटबल कोर्टबाट शुरु भइ धुम्बाराही चोक, सुकेधारा, चावहिल, जयबागेश्वरी, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, हात्तीसार, जयनेपाल, दरबारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, गोल्फुटार, नारायणथान हुँदै पुनः गोल्फुटार बास्केटबल कोर्ट रहेको छ ।