arrow

युरेनियम जस्तो देखिने पदार्थसहित ८ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
urenium-pakrau.JPG
फाइल तस्बिर

काठमाडौं । युरेनियम जस्तो देखिने पदार्थ सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । बौद्धस्थित हायत रिजेन्सी होटेलको कम्पाउण्डको कार पार्किङ क्षेत्रबाट २ किलो ८ सय ग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरूले भारतबाट ल्याई प्रति केजी ३५ करोड रुपैयाँ मूल्यमा विक्री गर्न लागेका थिए ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका ३४ वर्षीय भूपेन्द्र खड्का, ४० वर्षीय रामकृष्ण लामिछाने, ललितपुरका ६० वर्षीय नवराज महत, सिरहाका ४० वर्षीय गोपिलाल दास, ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरीका ३८ वर्षीय सुरेन्द्र प्रसाद चौधरी, भारत विहार चनादहोताका ६३ वर्षीय उपेन्द्र कुमार मिश्र र भारत महोत्तरी एकाडारा बगैया कलुवाका ४४ वर्षीय राजु ठाकुर रहेका छन् । 

काठमाडौं बौद्ध क्षेत्रमा केही व्यक्तिहरूले विभिन्न समूह बनाई युरेनियमको सङ्कलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री गर्दैछन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उक्त पार्किङ स्थलमा राखेको बा.५ च ८२०९ नम्बरको कारभित्र उक्त पदार्थ सहित भूपेन्द्र र नवराजलाई फेला पारी पक्राउ गरेको थियो । 

साथै उनीहरूसँगको सोधपुछका क्रममा उक्त पदार्थलाई उनीहरूले भारतबाट ल्याई प्रति केजी ३५ करोड रुपैयाँ मूल्यमा विक्री गर्न लागेको र उक्त कार्यमा अन्य ६ जना व्यक्तिहरूको समेत संलग्नता रहेको खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले उक्त कार, बा.२६ प १६२८ नम्बरको मोटरसाइकल, भूपेन्द्र खड्काको नाममा जारी भएको एकेडेमी अफ वीर गोर्खाज सेक्युरिटीको १ थान परिचयपत्र र विभिन्न कम्पनीको ९ थान मोबाइल समेत बरामद गरेको छ । 

उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अन्तर्गत मुद्दामा ७ दिन म्याद थप अनुमति प्राप्त गरी महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ