कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, भ्रातृ र शुभेच्छुक संस्थाबारे आजै निर्णय
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
662
Shares
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । हिजोदेखि जारी बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), स्थानीय तहको निर्वाचन र भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ ।
बैठक दिउँसो २ बजे पार्टी मुख्यालय वीपीनगर सानेपामा बस्ने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । कांग्रेसले एमसीसी पािरत गर्ने निर्णय गरेको छ ।
त्यसैगरी आज स्थानीय तहको निर्वाचन, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाबारे के गर्ने भन्ने बारेमा निष्कर्ष निकालिने डा. महतले बताए ।
बोल्न बाँकी सदस्यहरुले आज बोलेर त्यसपछि निष्कर्ष निकालिने उनले बताए । भ्रातृ र शुभेच्छुक अधिकांश संघ र संस्थाको अधिवेशन हुन सकेको छैन । त्यसलाई प्रक्रियागत रुपमा कसरी अगाडि बढाउन सकिन्छ र कुन समयमा अधिवेशन गर्दा उपयुक्त हुन्छ भनी निष्कर्षमा पुग्ने डा. महतले बताए ।
कार्यसम्पादन समिति गठन भएपछि पहिलो पटक बैठक बसेको हो । ४६ सदस्यीय हुने कार्यसम्पादन समितिमा अहिले ३७ जनामात्रै छन् । पार्टीले अझै कोषाध्यक्ष चयन गरेको छैन ।