के के भयो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकमा ? तीन वटा विज्ञप्तिसहित
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
1.2k
Shares
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकले पछिल्लो जल्दोबल्दो विषयमा ठोस निर्णय गरेको छ । बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदद्बारा पारित गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकमा एमसीसी संसदमा अगाडि बढाएर पारित गर्नुपर्ने विषयमा नेताहरू एकमत देखिएका हुन् ।
बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य डा रामशरण महतले एमसीसी परियोजनाबारे विस्तृतमा चर्चा गरेका थिए । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संक्षेपमा एमसीसीबारे लिखित सामग्री डा महतसँग मागेका थिए । सोही अनुसार महतले लामो विवरण राखेका थिए ।
बैठकमा सहभागी नेता डा शशांक कोइरालाका अनुसार देउवाले यो विषयमा शुरुआती दिनदेखि नै एमसीसी पारित गर्नुपर्छ र यसले देशको हित गर्ने भन्दै आइरहेका महतबाट स्पष्ट धारणा मागेका हुन् । योसँगै देउवाले पार्टीभित्र सबै पक्षको एक मत लिएर अगाडि बढ्ने संकेतसमेत देखाएका छन् ।
‘एमसीसी विद्युत र सडकका लागि हो र यो कुरा हामीले जनमानसमा भन्नुपर्छ भन्दै डा महतले लामो विवरण राखेको डा कोइरालाले जानकारी दिए । उनले भने, ‘उहाँले भन्नुभयो कि, यो हामीले लिनुपर्छ । त्यसपछि सभापतिजीले मलाई संक्षेपमा यसबारे लेखेर दिनु, साथीहरूसँग कुरा गर्छु भन्नुभयो’, कोइरालाले भने ।
बैठकमा डा कोइरालाले गठबन्धनसहित कांग्रेस निर्वाचनमा जान नहुने धारणा पनि राखेका छन् । भ्रातृ र शुभेच्छुक संगठनको महाधिवेशन भने केहीको स्थानीय तह निर्वाचनअघि र केहीको पछि गर्ने कुरा भएको छ ।
कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माले म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरु, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुका सम्बन्धमा र विविध विषयका प्रस्तावहरु प्रस्तुत गरेका थिए ।
अन्य विविध विषयमा कुराकानी भए पनि एमसीसीमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गरेको हो । यसअघि भने कांग्रेसले समेत पार्टीगत रुपमै बसेर एमसीसी पारित गर्ने निर्णय गरेको थिएन ।
यी हुन् छलफलपछि कांग्रेस पार्टी कार्यालयले निकालेका तीन वटा विज्ञप्ति
प्रेस विज्ञप्ति १
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज बस्यो । महामन्त्री विश्वप्रकाश शर्माले म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरु, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुका सम्बन्धमा र विविध विषयका प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो ।
आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु— गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. रामशरण महत, सुनिलबहादुर थापा, बलबहादुर के.सी., उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ लामा र आनन्दप्रसाद ढुंगानाले आफ्नो धारणा राख्नु भएको थियो ।
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
प्रेस विज्ञप्ति २
लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एमाले) सम्वद्ध नवलपरासीका विभिन्न पदीय जिम्मेवारीमा रहनु भएका तपसीलका व्यक्तिहरु आज विना शर्त नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । उहाँहरुलाई आजै सभापति श्री शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको सदस्यता प्रदान गर्नु भएको छ ।
यसरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा लोकतान्त्रिक समाजवादी पार्टीका— नगेन्द्र अग्रहरि
(नवलपरासी जिल्लाका वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष एवं २०७४ को प्रदेश सभा सदस्य पदका उम्मेदवार), जयप्रकाश सहनी (जिल्ला सचिव), मनोजकुमार गिरी, माया अग्रहरि (केन्द्रीय महिला विभागमा आवद्ध) र धिरज शर्मा (नेकपा एमाले रामग्राम नगर समितिका सदस्य) लगायतका हुनुहुन्छ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
प्रेस विज्ञप्ति ३
शोक वक्तव्य
नेपाली कांग्रेस ओखलढुंगाका पूर्व सभापति एवं पूर्व सांसद चन्द्रकान्त दाहालकी ८१ वर्षीया धर्मपत्नी कुन्तादेवी दाहालको हिजो माघ २६ गते बेलुका ९ः४० बजे निधन भयो । स्वर्गीय दाहालले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ ।
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।