arrow

बस्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक, केही दिन लम्बिन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
congress-party-office.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी मुख्यालय वीपीनगर सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यो बैठकमा दुई वटा एजेन्डामात्र तोकिएको छ । जसमा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको सम्बन्धमा छलफल हुनेछ । 

स्थानीय तहको निर्वाचन हुने भइसकेपछि अब कसरी अगाडि बढ्ने भन्नेबारेमा कांग्रेसले विशेष खाका बनाउने छ । कार्यसम्पादन समितिको पहिलो बैठक भएकाले पदाधिकारीहरुले बोल्ने भएकाले पनि यो बैठक महत्वपूर्ण हुनेछ । 

यसअघि मंगलबार र बुधबार आजको बैठकका लागि पदाधिकारी बैठक बसेको थियो । कांग्रेसले स्थानीय तहको निर्वाचनमा एकै मैदानमा उत्रने कि सत्तागठबन्धन बनाएजसरी सत्तागठबन्धन दलहरुसँग सहकार्य गरेर जाने भन्ने विषय निकै महत्वपूर्ण रहेको छ । 

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहकार्य गरेर अगाडि बढ्नु पर्ने पक्षमा रहेको बुझिन्छ भने डा. शेखर कोइराला पक्षले एक्लै मैदानमा उत्रनु पर्ने बताइरहेको छ । 

त्यसैगरी स्थानीय तहको निर्वाचनको घोषणा भइसकेको अवस्थामा भ्रातृ एवं शुभेच्छुक संस्थाहरुलाई सक्रिय बनाउनु महत्वपूर्ण हुनेछ । तर सबैभन्दा ठूलो समस्या ती संगठन एवं संस्थाहरुको अधिवेशनको हो ।

लामो समयदेखि अधिवेशन नहुँदा नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठन एवं नेपाल प्रेस युनियन लगायतका शुभेच्छुक संस्थाहरु चलायमान हुन सकिरहेका छैनन् । यसबारे पनि कार्यसम्पादन समितिले गम्भीर रुपले छलफल गरी निष्कर्ष निकाल्ने छ । 

त्यसैगरी अधिवेशन हुन बाँकी जिल्ला कार्यसमितिका बारेमा पनि निर्णय हुनेछ । कांग्रेसको १४ औं महाधिवेशन सकिएको भए पनि अझै १६ जिल्लाको अधिवेशन सकिएको छैन । महाधिवेशन सकिएपछि मिति तोकिएको भए पनि कोरोनाको महामारीका कारण अधिवेशन सरेको थियो । 

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले आजै बैठक सकिने सम्भावना कम रहेको बताए । उनले भने, ‘आज बैठक सकिंदैन होला । बोल्ने पदाधिकारीहरु धेरै हुनुहुन्छ । एक दुई दिन चल्छ होला ।’

त्यस्तै स्थानीय तहको निर्वाचनलगायत विषयमा केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट प्राप्त सुझाव र सल्लाहका आधारमा पार्टी आगामी दिनमा सशक्तरुपमा कसरी अगाडि बढ्ने र परिचालन हुनेसम्बन्धी निर्णयमा पुगिने प्रवक्ता डा प्रकाशशरण महतले बताए । 

कांग्रेसले यही माघ १४ गते तत्कालका लागि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो । कार्यसम्पादन समितिमा प्रधानमन्त्री एवं सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियार रहेका छन् । 

यसैगरी समितिमा नेता गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुङ्गाना रहेका छन् । 

पार्टीको १४औँ महाधिवेशनमा १३४ पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो भने ३३ सदस्य केन्द्रीय सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ । त्यसमध्ये पार्टी सभापति देउवाले विधानबमोजिम १३ सदस्य मनोनीत गरिसकेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ