कोदारी सडक विस्तारको नाममा सीआरसीसीको क्याम्प विस्तार
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २२ शनिबार
651
Shares
फाइल तस्बिर
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकबाट चीन जोड्ने कोदारी सडक निर्माणको बहानामा चिनियाँ निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी)ले नेपालको भूमिमा आफ्नो क्याम्प विस्तार गर्दै लगेको छ। फौजी शैलीमा क्याम्प राखेर बसेको सीआरसीसीले गैर कानुनी रूपमा नेपालमा सुराकी समेत गर्ने गरेको स्थानीयको आरोप छ।
चीनले सीआरसीसीका नाममा क्याम्पमा चिनियाँ सेना र कैदी बन्दीहरू नै परिचालन गरेको स्थानीय जानकारहरू बत्ताउँछन्। कोरोना सङ्क्रमण पूर्व चिनियाँ सेनाले सादा पोसाकमा सुराकी पठाउने गरेको थियो। उनीहरू नेपाली भूमिमा पसेर दिनभर बस्ने, मदिरा सेवन गर्ने, सर्वसाधारणलाई दुर्व्यवहार गर्ने गरेका थिए। कयौँ पटक उनीहरूलाई स्थानीयले लखेट्नु परेको थियो। तर, कोरोना सङ्क्रमणपछि भने चिनियाँ सेनाले दैनिक सुराकी खटाउने कार्य बन्द गरेको छ। बरु, कम्पनीमा कामदारका रूपमा सेना परिचालन गरेको र उनीहरू मार्फत नै सूचना सङ्कलन गर्ने, स्थानीय प्रहरी र प्रशासनलाई निर्देशन दिने र नेपाल भूमिमा चीनको पक्षमा वातावरण बनाउने काम गरिरहेको उनीहरू बत्ताउँछन्। यति मात्र होइन, उनीहरूले जनप्रतिनिधि मार्फत स्थानीय तहमा समेत अनावश्यक रूपमा हस्तक्षेप गर्ने गरेको कतिपय जनप्रतिनिधिले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्।
स्थानीय जनप्रतिनिधिहरूलाई चीन भ्रमण लैजानेदेखि उपहार वितरण गर्ने, राहतका नाममा खाद्यान्न र लत्ताकपडा वितरण गर्ने लगायतका काम समेत सीआरसीसी मार्फत चिनियाँ सेनाले नै गर्दै आएको स्थानीयहरूको बुझाई छ। यसअघि भन्सार नजिकै रहेको सीआरसीसीको क्याम्प विस्तार गर्दै लगिएको छ। अहिले लामोसाघुमा कम्पनीको क्याम्प रहेको स्थानीयवासी बत्ताउँछन्। उक्त क्षेत्र लगभग सबै सो कम्पनीको नाममा चिनियाँको कब्जामा छ। सीआरसीसीकी प्रतिनिधि सुलोचना लामिछानेले भने आफूहरू सुरुदेखि नै लामोसाँघुमा रहेको दाबी गरेकी छिन्।
सीआरसीसीका नाममा चिनियाँ सेनाको गतिविधि बढेको र क्याम्प राखेको विषय भने उनले अस्वीकार गरिन। यो विषयमा आफूले जवाफ दिन नसक्ने भन्दै एउटा देशको सेना अर्को देशमा प्रवेश गरेको भए नेपालको सेना तथा सशस्त्र प्रहरीले आफ्नो हिसाबले त्यसको व्यवस्थापन गर्ने उनको भनाई छ। नेपाली भूमि कब्जा गरेर बसेको विषयमा उनले सीआरसीसी कब्जा गरेर नभई काम गर्नका लागि भाडा तिरेर बसेको बताइन।