कांग्रेसले कार्यसम्पादन समिति गठन गर्दै, यसअर्थमा छ महत्वपूर्ण
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
619
Shares
तस्बिर– फाइल
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव (राष्ट्रिय सभा निर्वाचित सदस्य) कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो ।
आजको बैठकमा एकल कार्यसूची रहेको छ । बैठकमा कार्यसम्पादन समिति गठन गर्ने सम्बन्धी रहेको छ । कार्यसम्पादन समितिलाई पार्टी चलायमान बनाउन केन्द्रीय कार्यसमिति भन्दा पनि महत्वपूर्ण मानिन्छ ।
संख्याको हिसाबले १६७ सदस्यीय जम्बो केन्द्रीय कार्यसमिति पटक पटक बस्न सम्भव देखिँदैन । जसका कारण त्यो संख्याभन्दा कयौं सानो हुने कार्यसम्पादन समितिको बैठक बसेर राष्ट्रिय राजनीतिका मुद्दालाई सुल्झाउन सकिने अपेक्षा गरिन्छ ।
र पनि यसअघिको १३ औं महाधिवेशनपछि बनेको कार्यसम्पादन समिति अस्तित्वमै आएन । पार्टीको विधान विपरीत सभापति शेरबहादृुर देउवाले कार्यसम्पादन समिति गठन गरेपछि २०७४ सालको निर्वाचनपछि यसलाई भङ्ग गरिएको थियो ।
के छ विधानमा केन्द्रीय कार्यसम्पादन समिति गठनबारे ?
नेपाली कांग्रेसको विधानको परिच्छेद ७ को बुँदा २३ र २४ मा केन्द्रीय कार्यसम्पादन समितिको गठन तथा काम र कर्तव्य उल्लेख गरिएको छ ।
जसमा लेखिएको छ–
२३.केन्द्रीय कार्यसम्पादन समितिको गठनः
(१) केन्द्रीय कार्यसमितिको सभापति, उप–सभापति, महामन्त्री, कोषाध्यक्ष र सह–महामन्त्री, पदेन ।
(२) सभापतिले कार्यसमितिका सदस्य मध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी केन्द्रीय कार्यसम्पादन समितिका लागि एकतीस जना सदस्य कार्यसमितिको बैठकमा प्रस्ताव गर्नेछ । उक्त प्रस्तावलाई कार्यसमितिको बहुमतले अनुमोदन गर्नेछ ।
(३) संसदीय दलको नेता केन्द्रीय कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछ ।
(४) केन्द्रीय कार्यसमितिका प्रवक्ता ।
(५) केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रत्येक महिनामा कम्तिमा एक पटक बस्नेछ ।
२४. केन्द्रीय कार्यसम्पादन समितिको काम, कर्तव्य र अधिकारः
(१) कार्यसमितिको एउटा बैठक र अर्को बैठककोबीचमा कार्यसमितिले गनुपर्ने काम केन्द्रीय कार्यसम्पादन समितिले गर्नेछ ।
(२) कार्यसम्पादन समितिले आफ्नो निर्णय कार्यसमितिको बैठकमा पेस गरी अनुमोदनका लागि प्रस्तुत गर्नेछ ।
(३) पार्टीका केन्द्रीय विभागको कामको समीक्षा गर्नेछ ।
(४) समय–समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषय समितिका संयोजकसंग संयुक्त रूपमा विषयगत छलफलको आयोजना गर्नेछ ।
यसपालि ४६ सदस्यीय कार्यसम्पादन समिति बन्ने मुख्यसचिव पौडेलले बताए । सभापति, उपसभापति २, महामन्त्री २, कोषाध्यक्ष १ र सहमहामन्त्री ८ , ३१ जना सदस्य, प्रवक्ता, संसदीय दलको नेता कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछन् ।
कोषाध्यक्ष अझै टुङ्गो लागेको छैन । पार्टीले प्रवक्ता पनि तोकेको छैन । सभापति आफैं संसदीय दलको नेता भएकाले त्यसको समाधान भइसकेको छ ।
आजै कोषाध्यक्ष र प्रवक्ता बाहेक अरु सबैको टुङ्गो लाग्ने मुख्यसचिव पौडेलले बताए । उनले भने, हन्ड्रेड पर्सेन्ट टुङ्गो लाग्छ आज । प्रवक्ता र कोषाध्यक्ष जहिले टुङ्गो लाग्छ त्यसै दिन कार्यसम्पादन समिति पूर्ण हुन्छ ।
कार्यसम्पादन समितिलाई नीतिगत निर्णय गर्ने अधिकार नभए पनि कम्तीमा महिनाको एक पटक बस्ने बैठकले पार्टीका कार्यक्रमलाई चलायमान गराउन मद्धत गर्नेछ । कार्यसम्पादन समितिले गरेका निर्णयहरू लगत्तै बस्ने कार्यसमिति बैठकबाट अनुमोदन भने हुनुपर्छ ।
कार्यसम्पादन समिति बनेपछि देशभर पार्टी संगठनको गतिविधि गर्न सजिलो हुनेछ । त्यस्तै मातहतका कार्यसमितिलाई निर्देशन दिन पनि सजिलो हुनेछ ।
यसअघि कार्यसम्पादन समितिमा भएका केही नेताहरु यसमा छुट्ने छन् । कसैले पदाधिकारीमा चुनाव हारेका छन् भने कसैले केन्द्रीय कार्यसमितिमा उम्मेदवारी नै दिएनन् । सभापति देउवाले केन्द्रीय कार्यसमितिमा मनोनित गर्दा डा. शेखर कोइराला समूहबाट चुनाव लडेर हारेकालाई बेवास्ता गरेपछि उनीहरु पछि परेका हुन् ।
उपसभापतिमा पराजित महेश आचार्य, महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजाल र सहमहामन्त्रीमा पराजित मानबहादुर विश्वकर्मा केन्द्रीय सदस्यमा मनोनित नभएकाले उनीहरु कार्यसम्पादन समितिमा पर्ने छैनन् ।
सभापति देउवाले मनोनित गरेका शीर्ष तहका नेताहरु भने कार्यसम्पादन समितिमा पर्ने निश्चित छ ।
कार्यसूची नभए पनि आसन्न निर्वाचनबारे छलफल
बैठकको कार्यसूची एउटामात्र भए पनि अहिलेका जल्दाबल्दा विषय पन्छाउन नमिल्ने नेताहरुले बताएका छन् । जस्तो कि अहिले स्थानीय तहको निर्वाचनबारे चर्को बहस चलिरहेको छ ।
निर्वाचन आयोगले छिटो मिति तोक्न सरकारलाई आग्रह गरिरहेको छ । र पनि सत्ताधारी गठबन्धनले टुङ्गो लगाउन सकेको छैन । यसबारेमा कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा छलफल गरेर एउटा टुङ्गोमा पुग्नुपर्ने नेताहरुले बताएका छन् ।
स्थानीय तहको निर्वाचन २०७४ सालमा तीन चरणमा भएको थियो । त्यस्तै प्रतिनिधिसभा र प्रदेश तहको निर्वाचन भएको थियो । सत्ताधारी केही दलले सबै चुनाव एकैपटक गर्न सकिने गरी योजना बनाउन खोजिरहेका छन् ।
यो योजनामा कांग्रेसको एउटा तह र प्रमुख प्रतिपक्ष नेकपा एमाले राजी देखिएको छैन । एकैपटक चुनाव गर्ने नाममा बैशाखमा हुनुपर्ने चुनाव पछाडि धकेल्न खोजिएको आरोप सभापति देउवामाथि लागेको छ ।
आजको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले यो विषय उठान गर्ने निश्चित जस्तै छ । सत्ताधारी गठबन्धनसँग छलफल गर्नुअघि देउवाले पार्टीभित्र छलफल गर्नुपर्नेमा नेताहरुको जोड छ ।