arrow

प्रभावकारी सेवा दिँदै डडेल्धुरा अस्पताल

logo
राम धामी,  
प्रकाशित २०७८ माघ १२ बुधबार
dadeldhura-hospital-2022.jpg

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको एक मात्रै संघीय सरकारको स्वामित्वमा रहेको डडेल्धुरा अस्पतालमा हाल डेढ दर्जन विशेषज्ञ चिकित्सकहरुले सेवा दिइरहेका छन् । १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा १८ जना विशेषज्ञ चिकित्सक पुगेका छन । तर रिक्त दरबन्दी भने अझै पदपूर्ति गर्न सकेको छैन । केही विशेषज्ञ चिकित्सक दोहोरिएका छन् भने केही छात्रवृत्ति कोटामा कार्यरत रहेको डडेल्धुरा अस्पतालले जनाएको छ ।

अस्पतालमा अहिले निमित्त मेसु फिजिसियन डा. चेतराज भट्टको नेतृत्वमा आठ जना विशेषज्ञ चिकित्सक, पाँच जना सर्जन चिकित्सक, दुई जना एनेस्थेसियोलोजिष्ट, एक जना प्याथोलोजीसहित १२ जना मेडिकल अधिकृतले स्वास्थ्य उपचार सेवा दिइरहेका छन । 

चिकित्सकसँगै अन्य स्वास्थ्यकर्मीहरुको पदपूर्ति गर्नका लागि पहल भइरहेको अस्पतालले गठन गरेको संगठन संरचना तथा दरबन्दी पुनरावलेकन कार्यदलका सदस्यसमेत रहेका अस्पतालका कर्मचारी प्रकाशचन्द्र बुढाऐरले बताए ।
 
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड र निर्देशनमा रहेर हालै गठन गरिएको संगठन संरचना तथा दरबन्दी पुनरावलोकन कार्यदलले ओनएम सर्भेका क्रममा ११औं तहका विशेषज्ञ डाक्टर ३७ जना, नवौं र दशौं तहका विशेषज्ञ डाक्टर एक सय १४ जना र मेडिकल अधिकृत १३२ जनासमेत कुल एक हजार तीन सय ५३ दरबन्दी थप गर्नुपर्ने माग गरेको जानकारी दिए । 

हाल डडेल्धुरा अस्पतालमा चिकित्सकसहित ९५ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिएको छ । अस्पतालमा हाल तीनजना हाड जोर्नी विशेषज्ञ, दुई जना बालरोग विशेषज्ञ, दुई जना नाक कान घाँटी विशेषज्ञ, तीनजना डेन्टल सर्जन, दुई जना जनरल सर्जन, एकजना स्त्री रोग र एक जना मनोरोग विशेषज्ञ चिकित्सक कार्यरत छन् । अस्पतालमा रहेका चिकित्सकमध्ये १२ जना नेपाल सरकार छात्रवृत्ति करार अन्तर्गत खटिइ आएको अस्पताल प्रशासनले जनाएको छ । 

स्थापना कालदेखिनै चिकित्सक अभाव झेलिरहेको डडेल्धुरा अस्पतालमा विशेषज्ञ चिकित्सकहरुले प्रभावकारी रुपमा उपचार सेवा प्रदान गरिरहेको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए । उनले दरबन्दी अनुसारका सबै चिकित्सकसँगै अत्यावश्यक मेसिन उपकरण र भौतिक पूर्वाधार विकासका लागि संघीय सरकारसँग पटक पटक माग गर्दै आएको बताए । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्नका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त प्रस्तावमा सैद्धान्तिक सहमति प्रदान गरेको हो । 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु डोटी या डडेल्धुरामा मेडिकल कलेज सञ्चालन हुनुपर्ने मागसहित स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले डडेल्धुरामा अनसन बसेपछि केही समय पहिले स्वास्थ्य मन्त्रालयको टोली पुगेर डडेल्धुरा अस्पतालमा मेडिकल कलेज वा स्वास्थ्य शिक्षा प्रतिष्ठान सञ्चालन गर्नेबारेमा अध्ययन गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ