arrow

खीर पाइने ठाउँले परिचित साहुखर्क

logo
तर्कराज भट्ट,
प्रकाशित २०८० कार्तिक २५ शनिबार
kheer-dadeldhura-2080.jpg

डडेल्धुरा । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भिमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा पर्ने साहुखर्क खीर पाइने ठाउँले प्रख्यात छ । र यो राजमार्ग हुँदै यात्रा गर्ने जो कोहीलाई पनि साहुखर्कमा बनेको स्वादिष्ट खीर खाएरै जाने इच्छा हुन्छ । 

डडेल्धुराको साहुखर्क क्षेत्रका होटलहरुको मुख्य परिकार भनेको नै खीर हो । यहाँ आउने जो कोहीले पनि साहुखर्कमा खीरको स्वाद चाखेको हुन्छ । मिसावट नभएको दूधले पकाएको खीर निकै स्वादिलो हुने एक जना यात्रु कृष्ण दवाडीले बताए । उनले भने‘ साहुखर्क खीरका लागि प्रख्यात छ। स्वाद पनि मीठो, स्थानीय चामल र शुद्ध दूधबाट बनेको खीर बाटो पर्दा खाएरै जाने गर्दछु ।’

स्वाद अनुसार चिनी, नरिवल, बदाम, ल्वाङ, सुकमेल र दालचिनीको धुलो हालेर बनेको स्वादिष्ट खीर तयार हुन्छ । खीर र चिया साहुखर्कको चिनारी जस्तै बनेको अर्का यात्रु बिहानी शर्माको भनाइ छ ।

शुद्ध दूधबाट बनेको खीर ग्राहकको रोजाइ
साहुखर्कको खीर स्थानीय ठाउँमै उत्पादित चामल र शुद्ध दूधबाट बन्ने भएकाले धेरै जनाको रोजाइमा पर्ने गरेको छ । साहुखर्कका खीर पसलका पुराना ग्राहक पनि छन् । 

पहाडबाट तराई झर्दा होस् वा तराईबाट पहाड उक्लिँदा, यही राजमार्ग भएर हिँड्ने सवारी साधनको प्राय रोक्ने स्थान पनि साहुखर्क हो । यहाँ गाडी रोकेर यात्रुहरू खीरको स्वाद लिन्छन् अनि मात्र आफ्नो गन्तव्यतर्फ लाग्छन् । राजमार्ग भएर ओहोर दोहोर गर्दा सधै चिया र खीर खाएरै जाने गरेको चालक जनक सिंहले भने ।

बाजेको खीर पसल अझ प्रख्यात
साहुखर्कमा एक दर्जन जति खीर पसल छन् । तर साहुखर्कमा रहेको ‘बाजेको खीर पसल’ अरु भन्दा प्रख्यात छ । डडेल्धुराको रुवाखोलाका पसलका सञ्चालक शेरबहादुर देउवा (बाजे) ले २०२४ सालदेखि महाभारत पर्वत क्षेत्रको साहुखर्कमा खर्क (लेकमा भैंसी पाल्न बनाएको ठाउँ) बनाएर भैँसी पालन गर्दै आए । उनले भैँसी पाल्दै आएको स्थान हुँदै २०३२ सालमा सडक आयो । र उनले भैँसीको दूधको खीर पकाएर बेच्न लागे । 

सडक खनिए पश्चात् गाडी चल्न थाले । त्यति बेलाप्रति प्लेट खीरको मूल्य पाँच रुपैयाँ थियो । अहिले प्रतिप्लेट खीरको मूल्य ८० रुपैयाँ छ । तर पसलका सञ्चालक शेरबहादुर देउवा (बाजे) को गत जेठमा ७५ वर्षको उमेरका निधन भएपछि अहिले उक्त पसल उनकै छोरा कर्णबहादुर देउवाले सञ्चालन गरिरहेका छन् । खीर बाजेले बनाएको खीरको स्वाद अहिले कर्ण बहादुरले दिइरहेका छन् । 

खीर ब्यवसायबाटै लाखौँ कमाइ
खीर ब्यवसायबाटै सिजनमा मासिक दुई लाखसम्म कमाउँदै आएका कर्णबहादुर देउवाले आफ्नै घरमा १५ ओटा गड्डी भैँसी पनि पालेका छन् । नजिकैको गाउँबाट थप गरेर दैनिक दुई सय लिटरसम्म उनको पसलमा दूध संकलन हुन्छ । संकलित दूधबाट खीर बनाइन्छ । देउवाले भने ‘कमाई ठीकै हुन्छ, यात्रु बढी चलेपछि कमाई पनि बढ्दै जाने हो । खीर ब्यवसायबाटै घर खर्च र बालबच्चाको पढाइ खर्च धानिएको छ ।’

खीरले प्रख्यात बनेको साहुखर्क
शुद्ध र पोषिलो परिकारका रूपमा रहेको खीर सुदूरपश्चिममा प्रख्यात छ । साहुखर्कमा रहेका दर्जनौँ खीर पसलमा ग्राहकको भीड लागेको देखिन्छ । खीरलाई साहुखर्कले अझ प्रख्यात बनाइदिएको छ । साहुखर्कमै खीर पसल गर्दै आएका अर्का ब्यापारी नारायण देउवाले पनि खीर बेच्न थालेको वर्षौँ भयो । 

रुवाखोलाका खेतमा धान रोपाइँ गरेर स्थानिय धानको चामलले खीर पकाएर बेच्ने गरेको उनले बताए । गाउँबाट आएको भैसीको शुद्ध दुधलाई करिब एक घण्टा सम्म उमालेर स्थानिय ठाँउमै उत्पादित धानको चामललाई दूधमा पकाएर खीर तयार हुन्छ । अझ खीर लाई स्वादिष्ट बनाउन आवस्यकता अनुसार काजु, किसमिस, बदाम, नरिवल, चिनीलगायत मिसावट गरिन्छ ।

भिमदत्त राजमार्ग भएर तराई–पहाड आवतजावत गर्नेहरू साहुखर्कमा खीर र चियाको स्वाद लिने गरेका छन । प्राकृतिक हिसाबले पनि रमणीय रहेको साहुखर्क क्षेत्रलाई कतिपयले खीर पाइने ठाउँ भनेर चिन्ने गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ