सम्बन्ध जटिल रहेको रुससँग जापानले ऊर्जालगायतका क्षेत्रमा हात बढाउने
एएनआई, स्पुतनिक
प्रकाशित २०७८ माघ ३ सोमबार
467
Shares
टोकियो [जापान]। जापानी सरकारले क्षेत्रीय समस्या समाधान गर्न र शान्ति सन्धि गर्न एवं मस्कोसँग ऊर्जा क्षेत्रमा सहयोग सहितको सम्बन्धलाई व्यापक रूपमा विकास गर्न रुससँग वार्ता जारी राख्न चाहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले सोमबार बताएका छन्।
संसद्को तल्लो सदनको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले राष्ट्रिय हित पूरा गर्न जापान र रुसबीच ऊर्जा लगायतका सम्बन्धलाई बृहत्तर रूपमा विकास गर्ने हाम्रो योजना रहेको बताए ।
प्रधानमन्त्रीले टोकियोले "क्षेत्रीय समस्या समाधान गर्न र शान्ति सन्धिमा हस्ताक्षर गर्न सन् २०१८ लगायतका पहिले नै अवस्थित सम्झौताहरूको आधारमा रुससँग वार्ता जारी राख्नेछ" बताए ।
दोस्रो विश्वयुद्धपछि स्थायी शान्ति सन्धिमा हस्ताक्षर नगरेपछि रुस र जापानबीचको सम्बन्ध लामो समयदेखि जटिल रहेको छ। मुख्य जटिलता भनेको चारवटा टापुहरू - इटुरुप, कुनाशिर, शिकोटान र हाबोमाई मा केन्द्रित छ ।
ती क्षेत्रलाई रुसले कुरिल र जापानले उत्तरी क्षेत्र भनेर बुझ्ने गरेका छन् । सन् २०१८ मा जापान र रुसले सन् १९५६ को जापानी-सोभियत संयुक्त घोषणाको आधारमा शान्ति सन्धिमा वार्तालाई गति दिन सहमत भएका थिए।