नियोजित रुपमा अनावश्यक प्रहार गरेर मेरो चरित्र हत्याको प्रयास भयो: नेता सिंह
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
357
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताएका छन् ।
कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार आयोजना गरेको झण्डोत्तलन कार्यक्रम सम्बोधन गर्दै उनले पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार देउवालाई सभापतिमा सघाएको बताएका हुन् ।
नेता सिंहले केन्द्रीय नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत संस्थागत हुनुपर्ने एजेन्डा बोकेर महाधिवेशनमा मत मागेको स्मरण गर्दै मतदाताले आफूले अघि सारेका एजेन्डाअनुसार मत नदिएको गरेका छन् । पहिलो चरणको निर्वाचनमा आफूले परिवर्तन हुनुपर्छ भनिएको नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेडअनुसार देउवालाई सहयोग गरेको उनको भनाइ थियो।
‘दुईटा एजेन्डा बोकेर म यस पटक उठेको हुँ । एउटा केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ। दोस्रो पार्टी विधिसम्मत संस्थागत हुनुपर्यो । त्यो एजेन्डामा भोट मागेको हुँ,’ सिंहले भने, ‘पहिलो राउन्डको म्यान्डेडले मैंले परिवर्तन गर्नुपर्छ भनेकै नेतृत्वको पक्षमा देखियो। डेमोक्रेटिक पार्टीमा डमोक्रेटिक एक्सरसाइजमा सहभागी भइसकेपछि म्यान्डेड त मान्नुपर्यो नि।’
उनले पहिलो चरणको निर्वाचनको म्यान्डेड मान्दा धेरैको टाउको दुखेको पनि टिप्पणी गरे। ‘मैंले त्यो मान्डेड मान्यो भनेर कपाल दुखाई छ यहाँ,’ नेता सिंहले भने। उनले आफू गणेशमान पुत्र भएकै कारणमात्रै राजनीतिमा नआएको पनि प्रष्ट्याए ।
आफुले दोस्रो चरणमा सभापतिमा देउवालाई समर्थन गरेपछि ‘पार्टी भित्र आफ्नो स्वार्थ पूरा नभएपछि एक थरीले नियोजित रुपमा आफुमाथि अनावश्यक प्रहार गरेर चरित्र हत्याको प्रयास गरिरहेको समेत बताए ।
सामाजिक संजाल र सचार माध्यममार्फत बारबार अनावश्यक टीप्पणी गरिएको बताए । ‘उनीहरुले चाहे जस्तो गरे प्रकाशमान ठिक उनीहरुको ईच्छा बिपरित उभिंदा प्रकाशमानले अपराध नै गरेजसरी प्रचार गरियो,’ उनले भने ।