लतादेखि रक्षामन्त्री र तीन मुख्यमन्त्रीसहित थुप्रैलाई कोरोना
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
377
Shares
तस्बिर– गत सोमबार कोरोना भएपछि अस्पतालमा भर्नारत गायिका लता मंगेशकरको स्वास्थ्यलाभको कामना गर्दै कलाकार सुदर्शन पटनाइकले पुरी बिचमा बनाएको यो कला ।
काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिएको छ । मंगलबार मात्रै एक लाख ९३ हजार भन्दा बढी संक्रमित पाइएका छन् । जसमा ठूला ठूला हस्ती पनि संक्रमित भएका छन् ।
वरिष्ठ गायिका लता मंगेशकर पनि संक्रमित भएकी छिन् । उनमा हल्का लक्षण रहेको छ । उनको उमेरलाई ख्याल गर्दै मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । उनी ९२ वर्षकी छिन् । उनले ३० हजार भन्दा बढी गीत गाएकी छिन् । उनी ८० वर्षदेखि संगीतको दुनियाँमा छिन् ।
त्यस्तै रक्षामन्त्री राजनाथ सिंह पनि संक्रमित भएका छन् । उनले सामाजिक संजालमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन् । उनमा हल्का लक्षण छन् । उनले आफूलाई आइसोलेसनमा राखेका छन् ।
भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा पनि संक्रमित भएका छन् । उनले आफूलाई आइसोलेट गरेका छन् । उनले ट्वीटरमार्फत कोरोना भएको जानकारी दिएका हुन् ।
बिहारका मुख्यमन्त्री नीतिश कुमार पनि पोजेटिभ भएका छन् । उनले सोमबार एन्टिजेन परीक्षण गर्दा नेगेटिभ आए पनि पीसीआर गर्दा पोजेटिभ पाइएका थिए ।
राजस्थानका मुख्यमन्त्री अशोक गहलोत दोस्रो पटक संक्रमित भएका छन् । उनीसँगै उनकी पत्नी र छोरा पनि संक्रमित भएका छन् । उनी दोस्रो लहरमा पनि परेका थिए ।
कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मई पनि संक्रमित भएका छन् । उनले पनि आफूलाई आइसोलेट गरेका छन् । उनको स्वास्थ्य हाल ठीक छ ।
केन्द्रीय मन्त्री नितिन गडकरी पनि संक्रमित भएका छन् । गृहराज्यमन्त्री नित्यानन्द राय पनि पोजेटिभ आएका छन् ।
केन्द्रीय स्वास्थ्य राज्यमन्त्री भारती प्रवीण पवार पनि संक्रमित भएकी छिन् । केन्द्रीय रक्षा राज्यमन्त्री अजय भट्ट पनि संक्रमित भएका छन् ।
टीएमसीका नेता बाबुल सुप्रियो तेस्रो पटक संक्रमित भएका छन् ।
यसअघि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल, उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव, अभिनेत्री करिना कपूर, अभिनेता जोन इब्राहिम, अभिनेत्री नोरा फतेही, निर्देशक एकता कपूर र अभिनेता अर्जुन कपूर पनि संक्रमित भएर निको भएका छन् ।