arrow

कांग्रेस निकट कर्मचारीहरुको महाधिवेशन माघमा, को को छन् प्रतिस्पर्धामा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
karmachari-union-congress.jpg

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशन  यही माघ ८, ९ र १० गते काठमाडौंमा हुने भएको छ । यसअघि मंसिरमा महाधिवेशनको मिति तय गरिएको थियो । नेपाली कांग्रेसको महाधिवेशनसँग जुध्ने भएकोले मंसिरमा गर्ने भनिएको महाधिवेशनको तिथि स्थगित गरिएको थियो । 

आठौं महाधिवेशनको उद्घाटन कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् । अहिलेसम्म ७७ जिल्लामा जिल्ला अधिवेशन तथा ४२ वटा विभागमा विभागीय अधिवेशन सम्पन्न भइसकेको युनियनका अध्यक्ष गोपाल पोखरेलले बताए । उनका अनुसार माघमा हुने भनिएको महाविधेशनको तयारी पूरा भएको छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । नेतत्वमा आउन कांग्रेस निकट कर्मचारी नेताहरु अध्यक्षलगायत विभिन्न पदमा प्रतिष्पर्धा गर्ने भएका छन् । केहीले उम्मेदवारी घोषणा गरेका छन् भने केहीले उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् । स्रोतका अनुसार महाधिवेशनमा २ वटा प्यानल हुने भएको छ । 

एउटा प्यानलको नेतृत्व सुरेन्द्र अधिकारीले गर्नेछन् । जुन नेपाली कांग्रेसको संस्थापन टिमसँग नजिक छन् । अर्को टिमको नेतृत्व वर्तमान अध्यक्ष गोपाल पोखरेलले गर्ने भएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिने–नदिने विषयमा अझै टुंगो नलागेको उनले बताए । 

‘अहिले मैले साथीहरुसँग सरसल्लाह गरिरहेको छु । उम्मेदवारी दिने–नदिने भन्ने विषयमा अझै टुंगो लागेको छैन’ पोखरेलले भने, ‘तर देशभरबाट साथीहरुले अध्यक्षमा उम्मेदवारी दिनुपर्छ भन्ने सुझाव दिइरहेका छन् ।’

संस्थापन पक्षसँग निकट मानिएका सुरेन्द्र अधिकारीले भने आठौ महाधिवेशनमा अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने निश्चित भएको बताए । यस टिमबाट सुवास कोइराला, यज्ञराज अर्याल, जनक राउल, सुशील केसी, अमृत बगाले, देवराज सापकोटा, नन्दराम चौलागाई लगायतले विभिन्न पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

‘कर्मचारीहरुको हक हित र संगठन सुदृढीकरणमा अहिलेको नेतृत्वले गरेको कामबाट साथीहरु खुशी हुनुहुन्न’ वर्तमान उपमहासचिव यज्ञराज अर्यालले भने, ‘त्यसैले आठौं महाधिवेशनमा नेतृत्व परिवर्तन आवश्यक छ भन्ने साथीहरुको भावना छ ।’

गोपाल पोखेरल टिमबाट उत्तम कटुवाल, यज्ञ ओली, गणेश भण्डारी लगायतले विभिन्न पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । कर्मचारी हक, हित र संगठन सुदृढीकरणको लागि अहिलेको नेतृत्व र आफूले धेरै काम गरेको उत्तम कटुवालले बताए । 

आठांै महाधिवेशनमा पदाधिकारीमा दिने तयारी गरेका इन्दु शर्माले भने आफू अहिलेसम्म कुनै गुटमा सहभागी नभएको प्रष्ट पारे ।  

सुभास कोइरालाले भने सुरेन्द्र अधिकारी टिमबाट वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने करिब करिब निश्चित भएको बताए ।
  
युनियनको सातौं महाधिवेशनमा २०७४ चैतमा चितवनमा गरिएको थियो । युनियको विधान अनुसार प्रत्येक ३–३ वर्षमा महाधिवेशन गर्नुपर्छ । 

विशेष कारणवश कार्यसमितिको १ वर्ष म्याद थप गर्न सकिने व्यवस्था विधानमा छ । उक्त व्यवस्था अनुसार १ वर्ष म्याद थप गरिएको युनियनका नेताहरु बताउँछन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ