arrow

एमालेको जिल्ला नेतृत्व पेचिलो, कहाँ कस्तो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
CPN-UML-Flag.jpeg

काठमाडौं । नेकपा एमालेको संगठन विभागले प्रतिस्पर्धामा निषेध गरे पनि जिल्ला नेतृत्व चयन पेचिलो बन्दै गएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार देशभर एक साथ भर्चुअल माध्यमबाट  जिल्ला अधिवेशन उद्घाटन गर्दा सहमति र सहकार्यलाई जोड दिँदै गर्दा जिल्लामा भने आन्तरिक लोकतन्त्रलाई निषेध गरिएको भन्दै जिल्लास्थित नेतृत्व चयन पेचिलो बनेको हो । 

जिल्लामा एमाले नेतृत्व चयनको माहोलले तीन दिन बितिसक्दा पनि तातेकै छ । कुनै जिल्लामा सर्वसम्मतको प्रयास जारी छ भने कुनै जिल्लामा निर्वाचनमा जाने पनि देखिएको छ । एमालेमा ८ वर्षपछि जिल्ला अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न लागिएको हो । 

चितवनको १० औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । अधिवेशनअन्तर्गत शुक्रबार भएको बन्दसत्रमा नेतृत्वले अध्यक्षमा सहमति गराउन नसकेपछि स्थगित भएको हो । आइतबार चितवन महोत्सव उद्घाटन हुने कार्यक्रम रहेकाले २६ पुससम्मको लागि अधिवेशन स्थगित गरिएको भनिए पनि नेतृत्व चयनमा सर्वसम्मत हुन नसक्दा स्थिगित भएको हो । 

अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, तेजेन्द्र खड्का र कमल पाठकले आकांक्षा देखाएकोमा पाठकले न्यौपानेलाई समर्थन गर्ने भएका छन् । आफू उपाध्यक्षमा बस्ने भन्दै उनले न्यौपानेलाई अध्यक्षमा समर्थन गरेका थिए  । सर्वसम्मतिबाट अध्यक्ष चयन गर्न ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्ष मण्डलमा जिल्ला अध्यक्ष पार्वती रावल र पूर्वअध्यक्ष कृष्णभक्त पोखरेलसहित चितवनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेताहरू छन् ।

त्यस्तै एमाले सोलुखुम्बुको सातौं जिल्ला अधिवेशन पेचिलो बन्दै गएको छ । अधिवेशन बन्दसत्रमा प्रवेश गरेपछि नेतृत्व चयनमा थप पेचिलो बन्दै गएको हो । पार्टीभित्रका अधिकांश युवा नेताहरु आन्तरिक लोकतन्त्रलाई बचाउन जोडदार रुपमा लागि परेका छन् । तर नेतृत्वले सहमतिको नाममा पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बन्धक बनाउन खोजिएको भन्दै जोडदार आवाज उठाउँदा ती दिनदेखि अहिलेसम्म सहमति बन्न सकेको छैन । 

नेतृत्वले युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्न र आन्तरिक प्रतिस्पर्धामा छेक्न खोजेपछि शनिबारको बन्दसत्र थप पेचिलो बन्दै गएको थियो । सहमतिको नाममा नेतृत्वले यसअघिकै पदाधिकारीलाई सर्वसम्मत रुपमा स्वीकार्न आग्रह गरेपछि युवा नेताहरुले त्यसको विरोध गरेका हुन् । माओवादीबाट आएका शिशिर खालिङलाई सचिव बनाउन खोजेपछि विवाद शुरु भएको थियो । यद्यपि सोलु एमालेका नेताहरुले आज सर्वसम्मतिमै नेतृत्व घोषणा गर्ने जनाएका छन् ।
 
कैलालीमा एमालेको लागि उम्मेदवार प्यानल सहित चुनावी मैदानमा उत्रिएको छ । सहमति नभएपछि वर्तमान अध्यक्ष रतन थापा र वर्तमान उपाध्यक्ष रणबहादुर चन्द मैदानमा उत्रिएका हुन् ।  थापाको टिममा दुर्गा जोशी, सचिवमा दलबहादुर विक, सहसचिवमा प्रेम चौधरी र मदनराज ओझा छन् । चन्द प्यानलमा सीताराम बुढाथोकी उपाध्यक्ष, डेजी पाण्डे सचिव, लोकेन्द्र शाही र ममताप्रसाद चौधरी सहसचिवका उम्मेद्धार भएका छन् ।

उता सुनसरी अध्यक्षका चार जना दावेदावर देखिएका छन् । वर्तमान अध्यक्ष खेम पोखरेल, पूर्व एमाले अध्यक्षद्वय रेवतीरमण भण्डारी र द्धारिकलाल चौधरीले पनि आकांक्षा देखाएका छन् । यस्तै नेता रामप्रसाद चौलागाईंले पनि अध्यक्षमा दाबी गरेका छन् । नेताहरुका अनुसार अहिले चार जनाले दावी गरे पनि अन्तिम प्रतिस्पर्धामा भने भण्डारी र पोखरेल रहने सम्भावना बढी छ । भीम आचार्यले आफ्नो अनुकुल नेतृत्व चयन गराउन खोजेको आरोप लागिरहेको छ ।  

ओखलढुंगा, दोलखा, रामेछाप, काठमाडौं, कास्की लगायतका जिल्लामा समस्या देखिएको छ । कास्कीमा आज मतदान हुने  संभावना रहेको बताइएको छ भने काठमाडौमा अझै सर्वसम्मतिको प्रयास भैरहेको छ । 

नवलपरासीमा निर्वाचन भएको छ । त्यसको परिणाम आउन बाँकी नै छ । नवलपरासीमा मतदान भैसकेको छ भने जिल्लामा दुई समूह बनाएर चुनावी प्रतिस्पर्धा भएको छ । दीपेन्द्रराज अधिकारी र ठगप्रसाद गैरे नेतृत्वका दुई समूहबीच प्रतिस्पर्धा भएको हो ।
 
एमाले भक्तपुरको अध्यक्षमा वचन देउजा पुनः निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ चुनिएका छन् । यसैगरी लुम्बिनी प्रदेशका तीन जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । दाङ, बर्दिया र पाल्पामा जिल्ला नेतृत्व सर्वसम्मत चुनिएका हुन् । दाङमा हुकुमबहादुर बस्नेतको नेतृत्वमा जिल्ला कमिटी सर्वसम्मत चयन भयो । यसैगरी, पाल्पामा धनेन्द्रराज अधिकारी तथा बर्दियामा लालबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ 

यसैगरी रुकुम पूर्वमा माघ २२ र २३ गते जिल्ला अधिवेशन हुनेछ भने रोल्पामा पनि सचिवको केही दिनअघि निधन भएका कारण अधिवेशन स्थगित भएको छ । कर्णालीका १० जिल्लामध्ये शनिबार बेलुकासम्म दुई जिल्लामा मात्र सर्वसम्मत नेतृत्व चयन भएको छ । 

एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले डोल्पा र सल्यानमा सर्वसम्मत नेतृत्व चयन भएको बताए । एमाले डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा चयन भएका छन् । यस्तै सल्यानको अध्यक्षमा गोविन्दकुमार पुन चयन भएका छन् । 

प्रदेश राजधानीसमेत रहेको सुर्खेत जिल्लामा एमालेको बन्दसत्र सकिएको छैन । एमाले सुर्खेतमा आकांक्षी भने धेरै छन् । वर्तमान अध्यक्ष ध्रुवकुमार शाहीसँगै पार्टी उपाध्यक्ष अमृत बीसी, डण्डीप्रसाद शर्मा र कुलमणि देवकोटा अध्यक्षका आकांक्षी छन् । 

यस्तै दैलेखमा पनि अध्यक्षका आकांक्षी धेरै छन् । वर्तमान अध्यक्ष रवीन्द्रराज शर्मासँगै सूर्यबहादुर शाही, प्रेम थापालगायत अध्यक्षका आकांक्षी छन् । कालिकोटमा शनिबार मात्रै जिल्ला अधिवेशन उद्घाटन भएको छ । 

मोरङ अध्यक्षमा ऋषिकेश पोखरेल पुनः निर्वाचित भएका छन । शनिबार भएको मनोनयनमा अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रूपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेदवारी परेपछि स्वतः निर्विरोध निर्वाचित भएका हुन । 

सुदूरपश्चिम प्रदेशको बझाङबाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डडेल्धुरा र बाजुरामा जिल्ला अधिवेशन सुरु भएको छ । सुदूरपश्चिमको सबैभन्दा बढी सदस्य र निर्वाचन क्षेत्र भएको कैलालीमा जिल्ला अध्यक्षका लागी केपी ओली पक्षकै दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

एमालेका निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सहमतिको प्रयास सफल नभएपछि थापा र चन्दले उम्मेदवारी दर्ता गराएका हुन् । 

कञ्चनपुरमा वर्तमान अध्यक्ष वीरबहादुर थापा र सचिव सुरेन्द्र विष्ट अध्यक्षका लागि आकांक्षी देखिएका छन् । थापा तत्कालीन नेकपा हुँदासमेत कञ्चनपुरका अध्यक्ष थिए भने विष्ट भीमदत्त नगरपालिकाका मेयर हुन् । 
डडेल्धुरामा अध्यक्षमा सहमति भएपछि प्रकाश साउद र विपीन ओझाको उम्मवारी दर्ता भएको छ । बैतडीमा पनि वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा आकांक्षी छन् । 

दार्चुलामा वर्तमान अध्यक्ष रामचन्द्र जोशी पुनः अध्यक्ष बन्ने दाउमा छन् । बाजुरामा कालीबहादुर शाही, भरत थापा र लालबहादुर ओली अध्यक्षका आकांक्षी छन् । शाही वर्तमान अध्यक्ष हुन । 

इलाम अध्यक्ष पदका लागि महेश बस्नेत र नेता डा. देवी क्षेत्री दुलालको उम्मेदवारी परेको छ । बस्नेत इलाम नगरपालिकाका मेयरसँगै हालका अध्यक्षसमेत हुन् । डा. दुलाल भने पत्रकार हुन् । उनले पत्रकारितामै विद्यावारिधि गरेका छन् ।  

उपाध्यक्षमा उदय राई र याम अधिकारी, सचिवमा उमेश गुरुङ र प्रकाश अधिकारीको उम्मेदवारी परेको छ । सहमति नभए आइतबार निर्वाचन हुनेछ ।  

हालसम्म निर्वाचित अध्यक्षहरु 
१ झापा– दीपक कार्की 
२ पाल्पा– धनेन्द्रराज घिमिरे 
३ दाङ– हुकुमबहादुर बस्नेत 
४ डोल्पा– शेरबहादुर बुढा 
५ सल्यान– गोविन्द पुन 
६ बर्दिया– लालबहादुर श्रेष्ठ 
७ बाँके– किस्मतकुमार कक्षपति 
८ धादिङ– भूमि त्रिपाठी
९ अर्घाखाँची– पीताम्बर भुसाल
१० मोरङ– ऋषिकेश पोखरेल
११ काभ्रे– अशोक ब्याञ्जु
१२ भक्तपुर– बचन देउजा
१३ गुल्मी– बालसिंह काउछा
१४ खोटाङ– रामप्रसाद दंगाल
१५ सप्तरी– ताराकान्त चौधरी
१६ तनहुँ– श्रीप्रसाद श्रेष्ठ 
१७ धनकुटा– इन्द्रमणि पराजुली
१८ रसुवा– कर्णेल लामा 
१९ नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी 
२० कपिलवस्तु– डम्बर शर्मा 
विशेष जिल्ला कमिटी
१मजदुर विशेष– जितेन्द्र श्रेष्ठ
२ पेशागत विशेष– उमेश ढकाल

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ