विराटनगर । नेकपा एमाले मोरङको जिल्ला अधिवेशन अघि नै नयाँ नेतृत्वका लागि नामावली टुंगो लागेको छ । वर्तमान अध्यक्ष ऋषिकेश पोखरेल नै पुनः दोहोरिने गरी सहमति भएको एक नेताले बताए ।
उपाध्यक्ष र सचिवमा पनि हालकै पदाधिकारी दोहोरिने भएका हुन् । उपाध्यक्ष बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा नै निश्चित भएको छ । ‘नयाँ नेतृत्वको टुंगो लागिसकेको छ, अब ताली बजाउन मात्र बाँकी छ’, एक नेताले भने ।
उपसचिवमा भने केरावारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति भुजेललाई ल्याउने तयारी छ । उनी एमाले फुट्दा १० बुँदेमार्फत एमालेमै बसेकी थिइन् ।
पदाधिकारीमा एक महिला अनिवार्यको व्यवस्था विधानमै रहेपछि उनलाई ल्याउने तयारी गरिएको हो । १० बुँदेबाट एमालेमै बसेका बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी तथा पथरी शनिश्चरेका मेयर दिलीपकुमार राईको सिफारीसमा उनलाई उपसचिव बनाउन लागिएको हो ।
उपसचिवमै सन्तोष साहलाई ल्याउने तयारी छ । एमाले मोरङका अध्यक्ष ऋषिकेश पोख्रेलले पनि सर्वसम्मतै नेतृत्व चयन हुने बताए ।