‘जनतासँग नेपाली कांग्रेस’ अभियान लिएर शेखर समूह देशभर जाने, छलफलमा कसले के भने ?
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
558
Shares
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्ष डा. शेखर कोइराला समूह ‘जनतासँग नेपाली कांग्रेस’ अभियान लिएर देशभर जाने भएको छ । कांग्रेसको १४ औं महाधिवेशनपछि पहिलो पटक भएको डा. शेखर पक्षको टिमका विजयी तथा पराजित भएका उम्मेदवारबीचको छलफलका क्रममा नेताहरुले ‘जनतासँग नेपाली कांग्रेस’ अभियान लिएर जाने निर्णय गरेका हुन् ।
उक्त छलफलमा बोल्दै नेता कोइरालाले आफूहरु अग्निपरीक्षामा रहेको भन्दै ‘संगठन भित्रको जिम्मेवारी पाउनु भएका साथीहरुलाई कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरुले मात्र आशा र भरोसा गरेका छैनन्, आम नेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरुको गतिविधिलाई हेरिरहेका छन्’ भने ।
उनले अगाडि भने, ‘हाम्रा अगाडिका बाटाहरु सहज छैनन् । तीन तहको निर्वाचन हाम्रो सामु छ । कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरी साथीहरु सामु जानेछौँ र कांग्रेस एकताको सन्देश, कांग्रेस रुपान्तरणको सन्देश, नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौँ । हामी थाक्नेछैनौँ र विश्राम लिने छैनौँ । हामी कुनै पनि कार्यकर्ता साथीहरुको शिर झुक्न दिनेछैनौँ र निराश हुन दिनेछैनौँ । कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागि नै रहनेछौँ । तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिबद्ध छौँ ।’
छलफलका क्रममा महामन्त्री गगन थापाले भने, ‘भागवण्डाको पक्षमा होइन न्यायको पक्षमा छौं हामी । कांग्रेस सरकारमा गठवन्धनमा रहन्छ तर स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेस एक्लै जान्छ। जनतासँग नेपाली कांग्रेस अभियान लिएर देशभर जान्छौं ।’
त्यस्तै उपसभापति धनराज गुरुङले भने, ‘कमजोरी सुधारेर जान्छौं । न्यायोचित व्यवस्थापनको पक्षमा छौं भागवण्डाको पक्षमा होइन । टीमका सबै एक ठाउँमा रहेर देशव्यापी रुपमा जान्छौं ।’
लक्ष्मण बस्नेतले ‘नेता मात्र घुम्ने होइन गाउँ गाउँका कार्यकर्तालाई जगाउनु पर्दछ’ भने ।
छलफलका क्रममा महाधिवेशनका बेला भएका सवल र दुर्वल पक्षको पनि समीक्षा गरिएको थियो । त्यस्तै पार्टी विधि र विधानमा चल्नुपर्नेमा समेत जोड दिइएको थियो ।