नारायणहिटी संग्राहलयको जग्गा व्यापारिक मुनाफाका लागि दिनु राष्ट्रिय स्वाभिमान माथिको प्रहार हो: भीम रावल
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
640
Shares
काठमाडौं । एमाले नेता भीम रावलले ऐतिहासिक महत्त्वको सम्पदा नारायणहिटी दरबार संग्राहलयको जग्गा व्यापारिक मुनाफाका लागि रेष्टुरेन्ट चलाउने अनुमति दिनु राष्ट्रिय स्वाभिमान माथिको प्रहार भएको बताएका छन् ।
नारायणहिटीको करिब १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा दिइएको विषय सार्वजनिक भएपछि रावलको यस्तो प्रतिक्रिया आएको हो । नेता रावलले बुधबार विहान सामाजिक संजालमा प्रतिक्रिया लेख्दै देशप्रतिको गैरजिम्मेवार सम्झौता रद्द गरी नारायणहिटी संग्रहालयको मौलिकताको सुरक्षा गर्न माग पनि गरेका छन् ।
उनले लेखेका छन्,‘नारायणहिटी जस्तो ऐतिहासिक(सांस्कृतिक महत्वको सम्पदाको संरक्षण गर्नुको साँटो विदेशीलाई व्यापारिक मुनाफाका लागि रेष्टुरेन्ट चलाउने अनुमति दिनु राष्ट्रिय स्वाभिमान माथिको प्रहार हो।यस्तो देशप्रतिको गैरजिम्मेवार सम्झौता रद्द गरी नारायणहिटी संग्रहालयको मौलिकताको सुरक्षा गरियोस् ।’
नारायणहिटी दरबार परिसरको जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा दिइएको विषयले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सङ्ग्रहालयका संरक्षक योगेश भट्टराई विवादमा तानिएका छन् ।
तर निर्माणाधीन रेस्टुरेन्टका लागि आवश्यक संरचना निर्माणसम्बन्धी नक्सापास तथा स्थलगत नापजाँचसमेत नगरी निर्माण कार्य भइरहेको समाचार बाहिर आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा रेस्टुरेन्ट बनाउन रोक लगाइएको छ ।