कांग्रेस केन्द्रीय समिति बैठकमा राष्ट्रिय सभाको चुनावबारे निर्णय
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
1k
Shares
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजेका लागि पार्टी मुख्यालय वीपी स्मृति भवन ललितपुरमा बस्न लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
पौडेलका अनुसार बैठकमा राष्ट्रिय सभाको चुनावका बारेमा निर्णय हुनेछ । राष्ट्रिय सभाको १९ पदका लागि निर्वाचन हुँदैछ । सत्ता गठबन्धन दलहरु मिलेर जाने बताइरहेका छन् । कांग्रेसका तर्फबाट उम्मेदवार हुनेहरुको टुङ्गो यो बैठकले लगाउन सक्नेछ ।
त्यस्तै समसामयिक विषयमा पनि छलफल हुने पौडेलले बताए । कांग्रेस केन्द्रीय समितिमा अहिले निर्वाचित १३४, एक स्वतः केन्द्रीय सदस्य (सभापतिमा पराजित डा. शेखर कोइराला) र १३ मनोनित गरी कार्यसमिति १४८ सदस्यीय भइसकेको छ ।
शुरु भयो राष्ट्रिय सभा निर्वाचन प्रक्रिया
राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि निर्वाचन प्रक्रिया शनिबारबाट शुरु भएको छ । निर्वाचनमा भाग दिन १२ दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि शनिबारदेखि प्रक्रिया शुरु भएको र पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने र आचारसंहिता लागू हुनेछ ।
मतदानको लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था भइसकेको आयोगले यसअघि नै जनाएको छ । निर्वाचनमा स्थानीय तहमा १४ सय ९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहनेछन् ।
आयोगले चुवान चिह्न पनि निर्धारण गरिसकेको छ । मतपत्रको शुरुमा एमालेको सूर्य चिह्न रहने आयोगको भनाइ छ ।
त्यस्तै दोस्रोमा कांग्रेसको रुख, तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा, चौंथोमा जनता समाजवादी पार्टीको ढल्केको छाता निर्धारण भइसकेको छ ।
पाँचौंमा एकीकृत समाजवादी, छैटौंमा लोकतान्त्रिक समाजवादी पार्टी, सातौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी, आठौंमा राष्ट्रिय जनमोर्चा, नवौंमा नेपाल मजदूर किसान पार्टी, १० औं स्थानमा प्रजातान्त्रिक जनता पार्टी, ११ नम्बरमा नेपाल लोकतान्त्रिक पार्टी र १२ औं स्थानमा नेपाल परिवार दलको चुनाव चिन्ह रहने आयोगले जनाएको छ ।