arrow

निर्वाचनमा कांग्रेस एक्लै जनताको बीचमा जान्छ : केसी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
chandra-kc-NC.jpg

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आसन्न निर्वाचनमा कांग्रेस एक्लै जनताको बीचमा जाने बताएका छन् । रेसुङ्गा नगरपालिकाबाट निर्वाचित पार्टीका विभिन्न पदाधिकारीहरुलाई सम्मान गर्न नेपाली कांग्रेस रेसुङ्गा नगर समितिले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केसीले कुनै पनि हालतमा गठबन्धन बिना नै कांग्रेस निर्वाचनमा जाने दाबी गरे ।

शनिबार जिल्लास्थित पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा भएको कार्यक्रममा नेता केसीले कांग्रेसलाई आसन्न तीनै तहको निर्वाचनमा पहिलो पार्टी बनाउन आग्रह गर्दै भने,‘हामीले आफुले गरेका सबै गल्तीलाई सुधारेर एकल ढङ्गबाट पार्टीलाई जिताउन लागौं । आत्मालोचना गरेर अगाडी बढौं ।’ अहिले सबैको जिम्मेवारी गुल्मी जिल्लामा कांग्रेसलाई जिताउनु रहेको केसीले बताए ।

लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले राष्ट्रिय राजनीतिलाई अब नेपाली कांग्रेसले डोराउने दाबी गरे । सम्मान ग्रहण गर्दै उपसभापति श्रेष्ठले भर्खरै सकिएको अधिवेशन एकताको अधिवेशन बन्छ कि बन्दैन भन्ने कुरामा आफू निकै चिन्ता रहेको बताए । उपसभापति श्रेष्ठले सबै नेपाली जनताको भविष्य कांग्रेसले मात्रै उज्वल बनाउन सक्ने बताए ।

नेपाली कांग्रेस गुल्मीका सचिव भगतसिंह खड्का तथा कांग्रेसका पूर्व कोषाध्यक्ष श्रीप्रसाद भलामीले कांग्रेसले भर्खरै सकिएको महाधिवशेनबाट सबै समुदायलाई मिलाएर लगेको बताए । आम जनताका माझ सबै मिलेर पुग्नुपर्ने बेला आएको भन्दै सबै तहका नेता कार्यकर्ता एक भएर जनताको बीचमा जानुपर्ने बताए ।

कांग्रेस रेसुङ्गा नगर सभापति जयश्वर पन्थीको सभापतित्व रहेको कार्यक्रममा सावित्रा भण्डारीको स्वागत तथा सचिव गुणाखर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस अवसरमा रेसुङ्गा नगरपालिकाबाट कांग्रेसको विभिन्न तहमा निर्वाचित भएका करिब ५० जनालाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ