arrow

दुर्गा प्रसाईको दाबी : एक करोड मत खस्यो भने एमालेको एक्लै ७० लाख मत आउँछ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
Durga Prasai.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने र बहुमत हाँसिल गरेर सत्तारोहण गर्ने स्पष्ट पारेका छन् । उनले जनताले अब देशको लागि चाहिने पार्टी नै एमाले हो भनेर थाहा पाइसकेको दाबी गरे ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता प्रसाईले यस्तो बताएका हुन् । उनले मुलकको मुख्य प्रशासनिक केन्द्र (सिंहदरबार) ले पनि प्रधानमन्त्रीको रूपमा आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पर्खिएर बसेको टिप्पणी गरे ।

उनले भने,‘अघि, ऋषिजीले आउने निर्वाचनमा एमालेको पोजिसनको कुरा, म भन्छु–जनताको प्रिय पार्टी भनेको नै एमाले हो । देशमा भएका उद्योग, धन्दा, कलकारखाना बेच्ने पार्टी चाहिन्छ ? होईन, बन्द रहेका उद्योग/कलकारखाना सञ्चालन गर्नुपर्छ र युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ भन्ने एमालेजस्तो पार्टी चाहिन्छ ? जनताले अब सबै कुरा बुझिसके, म भन्छु अब जनताले एमालेलाई रोज्छन् । किनकी हामीले काम गरेका छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आगामी निर्वाचनमा जम्मा एक करोड मत खस्यो भने ७० लाख मत त एमालेलाई मात्रै आउने दाबी गरे । उनले भने,‘सिंहदरबारको मूल गेटपनि हाम्रो पार्टीका अध्यक्ष केपी ओलीलाई पर्खिएर बसेको छ ।’

उनले संसद् विघटन गर्ने कुरा प्रधानमन्त्रीको कार्यकारी अधिकारभित्रको कुरा भएको तर्क गर्दै यसअघि तत्कालिन प्रधानमन्त्री ओलीले गरेको दुई पटकको संसद् विघटन जायज थियो भन्ने तर्क गरे ।

कार्यक्रममा उपस्थित् एक पत्रकारले ‘तपाईँको त बोली ठ्याक्कै, अध्यक्ष केपी ओलीजस्तै छ नि’ भनेर पनि सोध्न भ्याए । जवाफमा प्रसाईले भने,‘उहाँले पनि आठराईको पानी खाएको हो । अनि मैले पनि आठराईकै पानी खाएको हुँ, अलि–अलि त आईहाल्छ नि । आठराईको झझल्को त आईहाल्छ नि ।’

उनले आफ्नो पार्टीको हालै सम्पन्न भएको १०औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुम्भमेला भनेको स्मरण गराउँदै आफ्नो पार्टीको महाधिवेशन भव्य रुपमा सफल भएको सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ