आगामी चुनावमा कांग्रेसले दुई तिहाइ ल्याउँछ र नेपालीका अधुरा सपनाहरु साकार पार्छ: डा.डिला संग्रौला
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
720
Shares
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आगामी आम निर्वाचनबाट नेपाली कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्तामा पुग्ने दावी गरेकी छन् ।
आफैंले लेखेको पुस्तक‘‘नेपालीका सपना अधुरै’ शनिबार प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट लोकर्पण गराउँदै अघिल्लो सरकारले जनताका सपनाहरु अधुरै राखेकाले अब कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्तामा पुगेर जनताका सपना पुरा गर्ने दायित्व लिनुपर्ने औंल्याइन ।
‘हामीले लिएको अठोट र विश्वासलाई अघिल्लो सरकारले पूरा गर्न सकेन । नेपालीका थुप्रै सपनाहरु अधुरै रहे । जनता फेरि कांग्रेसतिरै फर्क चाहेका छन् । कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको छ । त्यसैले आगामी तीनै तहको चुनावबाट कांग्रेस दुई तिहाइका साथ मुलुकको नेतृत्व गर्दै जनताका अधुरा सपना पूरा गर्नुपर्छ’, उनले भनिन् ।
यतिबेला सबै नेपालीले एउटा सपना बोकेको भए पनि ति सपनाहरु पूरा गर्ने दायित्व कांग्रेसको काँधमा आएको उल्लेख गर्दै डा.संग्रौलाले पाँच बर्षको म्यान्डेट पाएको केपी ओली नेतृत्वको सरकारले ति सपनाहरुलाई लत्याएको आरोप लगाइन ।
डा.संग्रौलाले आफ्नो पुस्तकमा जनताका भावना र सपनाहरु समेटेको बताइन । वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई अंगिकार गर्दै नेपालीका अधुरा सपनाहरु पूरा गर्ने दायित्व बोकेर सबै कार्यकर्ता गाउँ गाउँ पुग्नुपर्ने पनि बताइन ।
सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.अम्बरराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकमाथि त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.लोकनाथ दुलालले टिप्पणी गरेका थिए । ५१५ पृष्ठको पुस्तकमा समसामयिक र समकालिन राजनीति, महिला र समानता, सामाजिक सुरक्षा र विकास, शुसासन, संसद र संसदीय अभ्यास समेटिएका १४८ लेखहरु समावेश गरिएको छ ।