arrow

मन्त्री आलेको गाँसमा ढुङ्गा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
prem-ale.jpg
तस्बिर– फाइल

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेपछि पर्यटनमन्त्री प्रेम आलेको गाँसमा ढुङ्गा परेको छ ।

यता आलेले नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदमा ४ जना वरिष्ठहरुलाई पन्छ्याएर कनिष्ठलाई ल्याउने तयारी गरेका छन् । क्यानका वर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले यही पुस २३ गतेबाट अनिवार्य अवकाश लिन लागेका छन् ।

त्यसपछि उक्त पद खाली हुने छ । नियमअनुसार क्षेत्रीले अवकाश लिएपछि रिक्त ठाउँमा भोला गुरागाई, प्रतापबाबु तिवारी, देवचन्द्रलाल कर्ण, हंशराज पाण्डे मध्येबाट एक जनालाई ल्याउनु पर्ने हो ।

तर मन्त्री आलेले ११ औं तहका जुनियर कर्मचारी प्रदीप अधिकारीलाई क्यानको महानिर्देशक पदमा ल्याउने आश्वासन दिएको स्रोतले बतायो । 

पर्यटन बोर्डका कार्यकारी अधिकारी रेग्मीको सवालमा भने वनमन्त्री आलेले चाहेको पूरा भएन । पर्यटन स्रोत भन्छ, ‘अदालतले उल्ट्याउन नसक्ने गरी सबै प्रक्रिया पूरा गरेर रेग्मीलाई हटाउन पर्यटन सचिव महेश्वर न्यौपानेलाई मन्त्रीले अह्राएका थिए । ताकि रेग्मीको ठाउँमा अर्को मान्छे ल्याउन सकियोस् ।’ 

तर अदालतको अन्तरिम आदेशको कारण आलेको चाहना पूरा भएन । अदालतले दुवै पक्षलाई छलफलका लागि यही माघ ३ गते बोलाएको छ । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गत पुस २ गते बसेको पर्यटन बोर्डको बैठकले आलेको चाहना अनुसार रेग्मीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।  

मन्त्रालयको उक्त निर्णय विरुद्ध रेग्मी अदालत गएका थिए । 

पर्यटन मन्त्रालयमा आले आएपछि मन्त्रालय मातहतका सबै निकायमा हाकिम फेर्न आलेले प्रयास शुरु गरेका छन । यहाँ सम्मकि भानुभक्त विकास समिति जस्तो निकायमा पनि आलेको आँखा परेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ