arrow

कुन मार्ग खोज्दैछ कांग्रेस ? अनुत्तरित दर्जन प्रश्न

logo
बाबु नेपाली,
प्रकाशित २०७८ पुष १४ बुधबार
sher-bahadur-deuba-congress-final-2021.jpg

काठमाडौं । स्थायित्वमा रहेको नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले प्रजातन्त्र र समाजवादको आदर्शको कुरा गरेको धेरै भइसकेको छ । नेपालमा प्रजातन्त्र ल्याउनका लागि स्थापना भएको पार्टीको एजेन्डा समयअनुसार परिवर्तन भए पनि प्रजातन्त्र र समाजवादको आदर्श भने कायमै छ । योसँगै सामाजिक लोकतन्त्रको चर्चा पनि चलिरहेको छ । 

युवा पुस्ताले सामाजिक लोकतन्त्रलाई अगाडि बढाउन खोजिरहेको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले सामाजिक लोकतन्त्रको चर्चा चलाएका छन् । त्यस्तै पार्टीको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाले पनि आफूलाई परिस्कृत गर्दै लैजाने बताएका छन् । 

देउवाले महाधिवेशनको उद्घाटनको दिन आएका आफूलाई पुनः पार्टी सभापतिमा जिताएमा तीन वटै तहका आगामी निर्वाचनमा एकमना सरकार बनाउने दाबी गरेका थिए । 

नभन्दै देउवाले महाधिवेशन जिते । दोस्रो पटक सभापति बने । उनी दोहोरिए । तर अन्य पदमा प्रायः नयाँ सदस्य आए । पदाधिकारीमा देउवासँगै पूर्णबहादुर खड्का आउँदा बाँकी सबै नयाँ अनुहारले ठाउँ पायो । 

महाधिवेशन सकिएपछि छाडेका प्रश्नहरु

नयाँ नेतृत्व आउँदै गर्दा परिवर्तनको अपेक्षा गरिएको थियो । नारा पनि लाग्यो । पुस्तान्तरण र रुपान्तरणको कुरा पनि आयो । पुस्तान्तरणका क्रममा पदाधिकारी र कार्यसमितिमा नयाँ अनुहार आए पनि सभापति पुरानै आएपछि त्यसबाट कति परिवर्तन होला त रु भन्ने प्रश्न उब्जिएको छ । 

त्यतिमात्र हैन चुनावका क्रममा देउवाको नेतृत्वमाथी प्रश्न गर्दै आलोचनामा उत्रिएका सभापतिका उम्मेदवारहरु रातारात सभापति देउवाकै पक्षमा जाँदा नेपाली राजनीतिलाई कतातिर लग्यो त ? 

परिणाम शेरबहादुर देउवालाई दोस्रो पटक अझ बढी मतका साथ नेतृत्वमा पुग्न र कार्यसमितिमा ८२ प्रतिशत पकड जमाउन योगदान पुर्यायो । तर यसले कांग्रेस सशक्त बन्यो कि कांग्रेस राजनीति एक ध्रुवीय हुन पुग्यो ? प्रश्न पेचिलो बनेको छ।

संस्थापन इतर पक्षको संख्यात्मक रुपले कमजोर उपस्थितिले कांग्रेस राजनीति कता जाला त ? 

बलियो देखिएको नेतृत्व कतैबाट नियन्त्रणमा नरहेको स्पष्ट छ । यस्तो नेतृत्व भोलिका दिनमा कसरी अगाडि बढ्छ त ? 

उत्साह, एकता र रुपान्तरणको पार्टीको नारालाई यो परिणामले कतै न कतैबाट पछाडि धकेल्ने पो हो कि ? 

यो नतिजाको मतलब के निस्कियो त ? 

सभापतिमा पराजित भएका डा शेखर कोइरालाको भूमिका के होला ? 

डा शेखर अब के गर्लान् ? 

रुपान्तरणको प्रसङ्ग चलिरहँदा अहिलेको अभिमतले नयाँ र पुरानो पुस्ता पनि मिलेर जान सकिन्छ त ? 

युवा पुस्ताको अग्रणी मोर्चामा रहेका धनराज गुरुङ, गगनकुमार थापा, विश्वप्रकाश शर्मा र बद्री पाण्डेहरुको भूमिका के होला ? 
 
पहिले जसरी केपी शर्मा ओलीले नेकपा हुँदा दुई तिहाईको नजिक मत ल्याएर सरकार बनाउँदा जस्तो दम्भ थियो त्यसरी नै कतै देउवामा पनि पार्टीको आन्तरिक पकडले त्यो दम्भ देखिने पो हो कि ? 

आगामी निर्वाचनमा जसरी पनि आफ्नो पार्टीलाई सबैभन्दा ठूलो र बलियो पार्टी बनाउने अवसर देउवामा छ । राजनीतिको उत्तरार्धमा उनले पार्टी हस्तान्तरण गर्दा बलियो हुने संकेत पनि देखिन्छ । तर उनले अरुका कुरा नसुन्ने हो भने त्यसको नकारात्मक प्रभाव पर्न जाने नै छ । देउवाले आगामी दिनमा पार्टीलाई बलियो बनाउन चाहन्छन्, सत्ता संचालनलाई दरिलो बनाउन चाहन्छन् भने चित्त सानो हैन ठूलो बनाउन जरुरी छ।

पार्टीभित्रका प्रतिस्पर्धी डा शेखरलाई भूमिका नदिने हो भने र उनलाई बाहिर राख्ने हो भने आगामी निर्वाचनमा पार्टीलाई घाटा लाग्न सक्छ । किनकि डा शेखरको पक्षमा रहेको नेता कार्यकर्ताको पंक्ति पनि ठूलो छ । यो मतलाई सम्वोधन नगर्ने हो भने निर्वाचनमा विचलन आउन सक्छ । के देउवा आफ्नो इतर पक्षलाई सम्वोधन गर्न तयार हुन्छन् त ? 

यी एक दर्जन प्रश्नको समाधानसहित जवाफ मिल्न थाल्यो भने कांग्रेस हिँड्ने द्धार आफै खुल्नेछ । अनि कांग्रेस कार्यकर्ताहरु पनि त्यो मार्गमा हिँड्न सजिलो हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ