arrow

चिनियाँ 'स्पेस स्टेसन' र एलन मस्कको स्याटेलाइट झन्डै ठाेक्किए, चीनको पत्राचार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
china-space-station.jpg

काठमाडौं । एलन मस्कको एयरोस्पेस कम्पनी स्पेस एक्सले प्रक्षेपण गरेको स्याटेलाइट आफ्नो स्पेस स्टेसनसँग ठोक्किन आँटेपछि चीनले आक्रोशित हुँदै संयुक्त राष्ट्र सङ्घलाई पत्राचार गरेको छ ।

गत जुलाई र अक्टोबरमा दुई पटक चिनियाँ स्पेस स्टेसनसँग स्टार लिङ्कको स्याटेलाइट झन्डै ठोक्किन आँटेको र आफूहरू स्थिति परिवर्तन गर्ने अवस्थामा पुगेको भन्दै चीनले 'बाह्य अन्तरिक्ष नियमन गर्ने' सन्धिको पालना गर्न अमेरिकालाई सम्झाउन राष्ट्र सङ्घलाई आह्वान गरेको हो ।

भियना स्थिति राष्ट्र सङ्घको चिनियाँ स्थायी मिसनले पेस गरेको पत्रमा लेखिएको छ, 'बाह्य अन्तरिक्ष सम्बन्धी सन्धिका सबै पक्ष राष्ट्रहरूलाई माथि उल्लेखित जानकारी प्रवाह गर्न चीनले संयुक्त राष्ट्र सङ्घका महासचिवलाई अनुरोध गर्न चाहन्छ।'

सन्धिमा हस्ताक्षर गर्ने सबै पक्षले आफ्नो देशका सरकारी एवं गैर सरकारी निकायहरूले गरेका गतिविधिहरूको अन्तर्राष्ट्रिय जिम्मेवारी वहन गर्नु पर्ने चिनियाँ भनाइ छ ।

हार्वर्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका एस्ट्रोफिजिस्ट जोनाथन म्याकडोवेलले यसरी 'सूचना बुलेटिन' मार्फत गुनासो दर्ता गर्नु एक 'अत्यधिक असामान्य' कुरा भएको बताएका छन् ।

स्टार लिङ्क नेटवर्कका लागि स्पेस एक्सले १२०० वटा स्याटेलाइटहरु लन्च गरेको छ भने, १२ हजार स्याटेलाइट लन्च गर्न अमेरिकी सरकारबाट अनुमति प्राप्त गरेको छ ।

अन्तरिक्षमा टकरावटका घटनाहरू सामान्य भए पनि पछिल्लो समय धेरै मात्रामा स्याटेलाइट प्रक्षेपण हुँदै गर्दा यस्ता घटनाहरू बढ्दै गएको उनको भनाइ छ ।

यद्यपि, चीन पनि यस्ता गतिविधिबाट अछुतो न रहेको एस्ट्रोफिजिस्ट म्याकडोवेलको भनाइ छ । चीन अन्तरिक्षमा फोहर थुपार्ने प्रमुख जिम्मेवार मध्येको एक भएको र यसको एन्टी स्याटेलाइट मिसाइल परीक्षण एवं अन्य स्याटेलाइटले अन्तरिक्ष स्पेस स्टेसनलाई समेत समस्या पुर्‍याएको उनको भनाइ छ ।

पछिल्लो समय विभिन्न प्रायोजनका लागि अन्तरिक्ष स्याटेलाइटको सङ्ख्या अत्यधिक बढेको छ । यसैबीच आफ्नो अन्तरिक्ष स्टेसनसँग एलन मस्कको कम्पनीको स्याटेलाइट ठोक्किनै आँटेको भन्दै चीनले अन्तरिक्ष नियमन सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिको पालना गर्न अमेरिकीलाई आग्रह गर्न भन्दै राष्ट्र सङ्घलाई पत्राचार गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ