२०औं वरीयतामा राखिएपछि डा.शेखरको प्रतिक्रिया: 'कार्यकर्ता र मतदाताको माया नै मेरो वरीयता हो'
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
611
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीले कायम गरेको बरीयताका विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् ।शनिबारको केन्द्रीय समिति बैठकले २०औं नम्बरको वरीयतामा राखेपछि कोइरालाले पार्टीका मतदाताले दिएको मतले आफ्नो वरीयता कायम भइसकेको प्रतिक्रिया दिएका हुन् ।
१४ औं महाधिवेशनपछि पहिलोपटक गृहजिल्ला मोरङ पुगेका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको बताए । कार्यकर्ताको माया नै आफ्नो वरीयता हुने उनको भनाइ थियो ।
कोइरालाले सभापतिमा हार व्यहोर्नुमा आफ्नो पनि कमजोरी रहेको बताए । डा.शशांक कोइराला र सुजाता कोइरालाप्रति लक्षित गर्दै उनले आफ्नै भाइबहिनी तथा नेताहरूलाई मिलाउन नसक्नु कमजोरी भएको बताए ।
‘बीपी कोइरालाले मेरा बुवालाई लेखेको पत्र मैले मेरा भाइबहिनीलाई बुझाउन सकिनँ,’उनले भने, ‘पराजयको कारण एउटा त्यो हो जस्तो पनि लाग्छ ।’
कोइरालाले अब स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने समेत बताए । निर्वाचन आयोगले वैशाख २० गतेभित्रमा स्थानीय तहको निर्वाचन गर्ने भनेर भनिसकेकाले आफू त्यसमै व्यस्त हुने बताए ।
विधानमै पराजित उम्मेदवार केन्द्रीय कार्यसमितिमा रहने उल्लेख गरिएको बताउँदै नेता कोइरालाले केन्द्रीय कार्यसमितिको अबको बैठकमा सहभागी हुने बताए । यता, कांग्रेसको विगतको अभ्यास र परम्पराविपरीत सभापति शेरबहादुर देउवाले डा.शेखरलाई २०औं वरीयतामा राखेको भन्दै टिप्पणी शुरु भएको छ ।