अनलाइनबाटै मतदाता सङ्कलन गर्न कांग्रेस महानगर समितिको पहल, खटायो ३ हजार स्वयंसेवक
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
1.2k
Shares
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले मतदाता नामावली सङ्कलन एवं अद्यावधिकको म्याद थप गर्न र यसलाई व्यवस्थित बनाउन निर्वाचन आयोगसँग माग राखेको छ ।
नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति निलकाजी शाक्यको नेतृत्व टोलीले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर यस्तो माग राखेको हो ।
काठमाडौं महानगरपालिकाका मतदाताहरूको नामावली सङ्कलनको काम राष्ट्रिय सभागृहमा भइरहेको तर, उचित व्यवस्थापन नहुँदा समस्या उत्पन्न भएको भन्दै यसको समाधानका लागि प्रमुख आयुक्तको ध्यानाकर्षण गराएको सचिव सुशन वैद्यले बताएका छन् ।
अहिलेको अवस्थामा आधुनिक प्रविधिको प्रयोग गरेर अनलाइन आवेदनबाटै मतदाता नामावली सङ्कलनको काम गर्न सकिने अवस्था हुँदा हुँदै पनि अव्यवस्थित तरिकाले काम हुँदा सेवाग्राहीहरू समस्यामा परेको सचिव वैद्यले बताए ।
यसै विषयमा प्रमुख निर्वाचन आयुक्त थपलियाले अब अर्को पटक मतदाता नामावली सङ्कलन एवं अद्यावधिकको काम अनलाइनबाट गर्ने प्रतिबद्धता व्यक्त गरेको सचिव वैद्यले बताए ।
यस्तै टोलीले मतदाता नामावली सङ्कलनको म्याद थप गर्न समेत आग्रह गरेको छ । यस विषयमा पनि निर्वाचन आयोगले निर्वाचनको मिति नतोकिएसम्म म्याद थप गर्ने विषयमा समेत प्रतिबद्धता जनाएको छ ।
यस्तै मतदाता सङ्कलन स्थलको व्यवस्थापनका लागि आफूले अनुगमन गर्ने र १९ गतेपछि उपत्यका बाहिर खटिएकालाई उपत्यकामा खटाउने समेत प्रमुख निर्वाचन आयुक्त थपलियाले बताएका छन् ।
सम्पूर्ण नागरिकले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु पर्छ र त्यसैका लागि आफूहरूले मतदाता नामावली टिपाउन अभियान नै चालेको नेपाली कांग्रेस काठमाडौं महानगरका सचिव वैद्यको भनाइ छ ।
'भोट जुनसुकै दललाई जाओस्, तर हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्न पाउनु पर्याे, मतदान गर्न पाउनु पर्याे,' उनले भने ।
यसकै लागि महानगरका ३२ वटै वडामा घरघरमा गएर मतदाता नामावली टिपाउन अनुरोध गर्न ३ हजार स्वोयमसेवक खटाएको समेत उनले बताए । यस्तै कांग्रेसले युवासँगै प्रविधिको प्रयोग गरेर क्युआर कोड स्क्यान समेत बनाएको छ ।
उक्त क्युआर कोड स्क्यान गरेर आफ्नो नाम मतदाता नामावलीमा भए नभएको हेर्न सकिने र नभएको अवस्थामा तुरुन्त गएर टिपाउन सकिने सचिव वैद्यले बताए ।