इतिहासकै ठूलो जेम्स वेब स्पेस टेलिस्कोपले कसरी गर्छ १३ अर्ब वर्षअघिको ब्रह्माण्डको अध्ययन ?
ब्रह्माण्डको उत्पत्तीबारे अध्ययन गर्न इतिहासकै ठूलो स्पेस टेलिस्कोप अन्तरिक्षमा
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
624
Shares
काठमाडौं। फ्रान्सेली गुयानाको कोउरो स्थित युरोपको स्पेस पोर्ट भनेर चिनिने गुयाना स्पेस सेन्टरबाट शनिबार इतिहासकै ठूलो स्पेस टेलिस्कोपको सफल प्रक्षेपण भएको छ । २१ मिटर लामो र १४ मिटर चौडा जेम्स वेब स्पेस टेलिस्कोपको तौल ६ हजार ५ सय किलोग्राम रहेको छ ।
यसलाई हबल स्पेस टेलिस्कोपको उत्तराधिकारी समेत भनिएको छ । बिग ब्याङ्ग पछि ब्रह्माण्डको सुरुवाती चरण, आकाशगङ्गाहरूको विकास, तारा र ग्रह प्रणालीको विकास क्रम, ग्रह प्रणाली र जीवनको उत्पत्तिलगायतका विषयमा जेम्स स्पेस टेलिस्कोपले अध्ययन गर्नेछ ।
यसको अर्थ जेम्स वेब स्पेस टेलिस्कोपले बिग ब्याङ्ग भएको १० करोड वर्षपछिका गतिविधिहरू देख्न सक्नेछ । त्यति बेला ताराहरू र आकाशगङ्गाहरूको उत्पत्ति र विकास हुन थालेको थियो ।
बिग ब्याङ्ग १३ अर्ब ८० करोड वर्षअघिको घटना भन्ने अनुमान गरिएको छ । जेम्स वेब स्पेस टेलिस्कोपले १३ अर्ब ७० करोड वर्षसम्मदेखियताका गतिविधिको अध्ययन गर्न सक्नेछ ।
कस्तो छ जेम्स वेब स्पेस टेलिस्कोप
यो टेलिस्कोपले माइनस २३० डिग्री सेल्सियस तापक्रममा काम गर्न सक्नेछ । यसले आउँदो १९ वर्षसम्म काम गर्न सक्ने छ ।
प्रक्षेपणको मितिदेखि ३० दिनमा यो टेलिस्कोप पृथ्वी र सुर्यबीचको लगरेन्ज बिन्दु एल२ मा रहनेछ र त्यहाँबाटै काम गर्ने छ । जुन पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा हो । पृथ्वी र चन्द्रमाबीचको दुरी करिब ३ लाख ८४ हजार किलोमिटर रहेको छ ।
धेरै ठुलो आकार भएका कारण यो टेलिस्कोपलाई रकेटको सामान बोक्ने बाकसमा राख्न कठिनाइ भएका कारण यसलाई विभिन्न टुक्रामा खोल्न मिल्ने गरी बनाइएको थियो ।
यसैकारण ३० दिनको क्रममा टेलिस्कोपका सबै टुक्राहरू आवश्यकता अनुरूप जडित हुनुपर्ने छ जुन निकै कठिन प्रक्रिया हुन जानेछ ।
जेम्स वेब स्पेस टेलिस्कोपको ६.५ मिटर लामो ऐना
जेम्स वेब स्पेस टेलिस्कोपको ६.५ मिटर लामो ऐना सुनले लेपिएका १८ वटा बेरिलियमका षट्भुजका टुक्राले जडित छ । यस्तै टेलिस्कोपको तापमानलाई सन्तुलित पार्ने २१ मिटर लामो र १४ मिटर चौडा पाँच वटा सनशिल्ड पनि रहेका छन् ।
टेलिस्कोप एल२ मा अवस्थित हुने यो ३० दिनको अवधिमा ऐना, शनशिल्डलगायतका अन्य सबै वैज्ञानिक उपकरणहरूको जडान हुनेछ ।
सबै चरण सफल हुँदै गएमा अबको करिब ६ महिनादेखि यसले पृथ्वीमा जानकारीहरू पठाउन थाल्नेछ । जेम्स वेब टेलिस्कोपको पूर्ण नियन्त्रण पृथ्वीबाट हुनेछ ।
सनशिल्डसहितकाे जेम्स वेब स्पेस टेलिस्काेप
जेम्स वेब स्पेस टेलिस्कोपले कसरी देख्छ १३ अर्ब वर्षअघि ?
जसरी सूर्यबाट पृथ्वीमा प्रकाश आउन करिब ८ मिनेट लाग्छ अर्थात् हामी सूर्य ८ मिनेट कस्तो थियो भनेर देखिरहेका हुन्छौँ । सूर्य हरायो भने हामीले ८ मिनेटपछि मात्रै थाहा पाउँछौँ ।
यसरी नै बिग ब्याङ्ग पछिका पहिलो ताराहरूको प्रकाश अर्बौँ वर्षअघिदेखि आइरहेको अर्थात् यात्रामा हुन्छ ।
अर्बौं वर्ष पहिले देखिएको उक्त तारा अथवा उक्त ताराबाट आएको प्रकाशकै आधारमा जेम्सले वेबले अर्बौँ वर्ष पहिले तारा कस्तो थियो भनेर देख्छ ।
हबलसँग तुलना गर्दा सन् १९९० मा ३० वर्षसम्म काम गर्ने लक्ष्यले प्रक्षेपण गरिएका हबल स्पेस टेलिस्कोपले अहिलेसम्म काम गर्दै आएको छ ।
हबल भन्दा थप अत्याधुनिक प्रविधिको जेम्स वेब स्पेस टेलिस्कोपले कार्य अवधि १० वर्ष भनिएको छ । हबलमा २.४ मिटर लामो ऐना थियो भने, जेम्स वेबमा ६.५ मिटर लामो ऐना छ ।
हबलको तौल १२ हजार ६ सय किलो थियो भने जेम्स वेबको तौल ६ हजार ५ सय किलो रहेको छ । हबलले २० डिग्री सेल्सियसमा काम गर्न सक्थ्यो भने, जेम्स वेबले माइनस २३० डिग्री सेल्सियसको तापक्रममा काम गर्न सक्नेछ ।
सन् १९८९ मा नै जेम्स वेब स्पेस टेलिस्कोप निर्माण गर्ने प्रक्रिया अघि बढ्दा सन् १९९० देखि काम सुरु भएको थियो । लामो समयपछिको ढिलाइ र निर्माणपछि झन्डै ९ अर्ब अमेरिकी डलरको टेलिस्कोप अहिले अन्तरिक्षमा प्रक्षेपण भएको हो ।
'हामी को हौँ, हामी के हौँ, यसले हामीलाई हाम्रो ब्रह्माण्ड र यसमा हाम्रो स्थानको विषयमा थप बुझाउने छ,' नासाका प्रशासक बिल नेल्सनले भनेका छन् ।