arrow

अर्जुन दास हत्या प्रकरणः लम्की बजार बन्द, दिनभर राजमार्ग अवरुद्ध

logo
देवानन्द न्यौपाने, 
प्रकाशित २०७८ पुष ९ शुक्रबार
lamki-hatya.jpg

कैलाली(लम्की) । गत शनिबार बीभत्स रूपमा हत्या गरिएका कैलालीको जानकी गाउँपालिका–९ का युवक अर्जुन दासको न्यायका लागि भन्दै लम्की बजार बन्द गरी राजमार्ग अबरुद्ध पारिएको छ ।

अर्जुनको न्यायका लागि सङ्घर्ष समितिको अगुवाइमा आज शुक्रबार बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म लम्की बजार बन्द गरी पुर्बपश्चिम राजमार्ग अबरुद्ध गरीएको हो ।

अर्जुन हत्या घटनाको सात दिन बितिसक्दा पनि प्रहरी, प्रशासनले घटनामा संलग्न अभियुक्तहरू पक्राउ गर्न नसकेको र घटनाको सत्यतथ्य बाहिर ल्याउन नसकेकोले न्यायको माग गदै लम्की बजार क्षेत्रको सम्पुर्ण ब्यवसाय बन्द गरी राजमार्ग अबरुद्ध पारिएको संघर्ष समितिले जनाएको छ । चरणबद्ध आन्दोलन अन्तर्गत संघर्ष समितिले बिहीबार जानकी गाउँपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै टीकापुरमा प्रर्दशन गरेको थियो ।

सङ्घर्ष समितिले घटनामा संलग्न अपराधीलाई पक्राउ गरी सर्वस्वसहित आजीवन कारावासको सजाय हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति, बालबालिकाको शिक्षाको व्यवस्था, पीडित परिवारको सुरक्षाको ग्यारेन्टीसहितका माग राख्दै ६ दिनदेखि आन्दोलन अघि बढाएको छ ।

गत शनिबार जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा अर्जुनको बीभत्स शव बरामद भएको थियो । टाउको छिनालिएको र नग्न अवस्थामा रूखमा बाँधिएको अवस्था शव रहेको थियो । घटनाको दुई दिनपछि प्रहरीले पोस्टमार्टमका लागि शव टीकापुर अस्पताल लगेको थियो । शवको पोस्टमार्टम भइसके पनि आफन्तहरूले शुक्रबार साँझसम्म शव बुझेका छैनन् ।

सङ्घर्ष समितले शुक्रबार टीकापुरमै केही दिनअघि निर्मम हत्या गरिएका भूपेन्द्र बडुवाल र अर्जुनको न्यायका लागि लम्कीमा राजमार्ग र बजार बन्द गर्ने घोषणा गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ