- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
प्रेस नोट
सम्माननीय प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ ।भेटमा प्रधानमन्त्रीले अध्यक्ष दाहाललाई के सन्दर्भमा भेट्न खोज्नुभएको हो भनी प्रश्न गरेपछि अध्यक्ष दाहालले राष्ट्रपतिबाट सहमतिको सरकार गठन गर्न दिनुभएको समयका बारेमा बताउनुभएको थियो । त्यसपछि प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारकाबारेमा तपाईको दल र तपाईसँग सहकार्य गर्न खोज्ने नेपाली कांग्रेसको धारणा के हो भनी प्रश्न गर्नुभएको थियो । प्रधानमन्त्रीले तपाईंलाई समर्थन गर्ने दल नेपाली कांग्रेसको राष्ट्रिय सहमतिको सरकार गठनबारे दृष्टिकोण के हो भनी प्रश्न गर्दै अध्यक्ष दाहाललाई भन्नुभयो– के नेपाली कांग्रेस पनि राष्ट्रिय सहमतिको सरकारको गठनको पक्षमा उभिएको हो ? नेपाली कांग्रेसले संसदमा र सार्वजनिक रुपमा समेत ठूला राजनीतिक दलहरु कांग्रेस र एमाले सँगै सरकारमा बस्न नमिल्ने धारणा सार्वजनिक गर्दै आएको छ । यदि कांग्रेस राष्ट्रिय सहमतिका लागि तयार हो भने सबैभन्दा पहिला उसले आफ्नो धारणा सार्वजनिक रुपमा प्रष्ट्याउनु पर्छ ।
अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने अवस्था रहेपनि आफुले धर्म निर्वाह गर्न वार्तामा आएको बताउनु भएको थियो । भेटवार्तामा माओबादी केन्द्रका अध्यक्ष दाहालले अब बन्ने सरकारले वर्तमान सरकारले चीन सरकारसँग गरेका सम्झौताहरुको कार्यान्वयन गर्नुकासाथै राष्ट्रिय हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले यदि अब बन्ने सरकारले राष्ट्रिय हितमा काम गरे, काठमाण्डौं– तराई जोड्ने द्रत्तमार्ग र चीनसँग भएका सहमति र सम्झौता लगायतका राष्ट्रिय हितका काम कार्वाही अगाडि बढाएमा आफु र आफ्नो पार्टीले सहयोग गर्ने तर अबको सरकारको काम कार्वाही र व्यबहार हेर्ने बताउनु भएको थियो ।
प्रधानमन्त्रीले नेपाली कांग्रेस, माओबादी केन्द्र र मधेसी मोर्चाले छलफल गरी स्थानीय निकायको निर्वाचन चैत्रमा गर्ने सहमति गरेर आफु र आफ्नो पार्टीलाई निर्णय सुनाउन आउने अनि सहमतिको कुरा गर्ने भनी प्रश्न गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले अब बन्ने प्रधानमन्त्री चैत्रमा फेरिने र चैत्रमा नै निर्वाचन गर्ने कुरामा संगति नमिलेकोले निर्वाचन नै नगराउने षडयन्त्र भएकोमा आशंका व्यक्त गर्नुभएको थियो । भेटवार्तामा प्रधानमन्त्रीका साथै उपप्रधानमन्त्री भीम रावल, नेकपमा एमाले संसदीय दलका उपनेता सुभाष नेम्वाङ, नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र प्रमुख सचेतक भानुभक्त ढकाल र नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।
प्रमोद दाहाल
सल्लाहकार
प्रधानमन्त्री
२०७३ साउन १५