लगातार संसद अवरोध हुँदा पनि सरकार तमासा हेरेर बस्योः अधिकारी
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
706
Shares
तस्बिर– फाइल
पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले लगातार संसद अवरोध हुँदा पनि सरकार तमासा हेरेर बसेको आरोप लगाएका छन् ।
नेकपा एमाले धादिङ पोखरा सम्पर्क मञ्चको पाचौं अधिवेशन उद्घाटन गर्दै अधिकारीले आफूलाई लोकतन्त्रवादी भन्ने कांग्रेस नेतृत्वको सरकारले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न कुनै भूमिका निर्वाह नगरेको र तमासा हेरेर बसेको आरोप लगाएका हुन् ।
उनले सरकारले अहिले गैरजिम्मेवार प्रवृति देखाएको आरोप लगाउँदै यो सरकार आफ्नो नीति र सिद्धान्तमा विश्वस्त नरहेको बताए । उनले अहिले सरकारमा रहेको गठवन्धन धेरै नटिक्ने दावी गर्दै ठूलो पार्टी एमालेलाई एक्ल्याएर मुलुक अघि बढ्न नसक्ने स्पष्ट पारे ।
एमाले धादिङका सहइन्चार्ज जानुका सिंखडाले मुलुकको समृद्धि र विकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने दावी गरिन् ।
कार्यक्रममा नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क समितिका निवर्तमान सभापति केदार धमला, माओवादी केन्द्र धादिङ पोखरा जनसम्पर्क मञ्चका सहसंयोजक ईश्वरकुमार श्रेष्ठ, मञ्चका पूर्वअध्यक्षहरु वेनी पाठक, कृष्णबहादुर लम्साल लगायतले बोलेका थिए ।
मञ्चका अध्यक्ष वीरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एवं कार्यक्रम संयोजक अर्जुन खतिवडा र सञ्चालन सचिव योगप्रसाद सापकोटा नवराजले गरेका थिए ।
मञ्चमा नयाँ नेतृत्व चयन
मञ्चको अधिवेशनले अध्यक्षमा शेरबहादुर अधिकारी चयन गरेको छ । अधिकारी यस अघिको कार्य समितिमा उपाध्यक्षको भूमिकामा थिए ।
यसैगरी मञ्चको तीन उपाध्यक्षमा अर्जुन खतिवडा, सरस्वती श्रेष्ठ सरु र योगप्रसाद सापकोटा नवराज चयन भएका छन् ।
यस्तै, सचिवमा सरोज कुँवर, उपसचिवमा रामप्रसाद दुवाडी र विष्णुमाया श्रेष्ठ छन् ।