arrow

प्रमुख फेर्न चारैतिर प्रेम आलेको आँखा, ल्हारकेललाई लुम्बिनी कोषमा ल्याउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
prem-aale-lyarkel-lama.jpg
तस्बिर – पर्यटन मन्त्री आले (दायाँ) र ल्हारकेल लामा (बायाँ) ।

काठमाडौं । वनमन्त्री भएको बेला निकै विवादास्पद बनेका प्रेम आलेले पर्यटनमन्त्री हुँदा पनि आफ्नो छवि सुधार गर्न सकेनन् । छोटो समयमै उनले आफ्नो शैली पर्यटन मन्त्री हुँदा पनि देखाए । वनमन्त्री हुँदा उनले आफ्नो सचिवालयमा प्रधानमन्त्रीझैं गरी राजनीतिक सल्लाहकार, सल्लाहकार विज्ञ, प्रमुख सल्लाहकार जस्ता पद बाँडेर आफ्ना मान्छे राखे । पर्यटनमा हुँदा उनले यस्तो त गरेका छैनन् तर पर्यटन मातहतका आकर्षक मानिने कार्यालयमा कार्यालय प्रमुख फेर्न अभियान नै शुरु गरेका छन् ।
 
उनले नेपाल वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरण, पर्यटन बोर्ड त चलाए नै भानुभक्त विकास समिति, तारागाउँ विकास समिति जस्ता कार्यालयमा पनि आँखा लगाएका छन् । लुम्बिनी विकास कोषमा आफ्नो मान्छे ‘सेटल’ गर्न प्रक्रिया शुरु गरेका छन् ।  

आले पर्यटनमा आउने बित्तिकै पर्यटन सचिव यादव कोइरालालाई त्यहाँबाट सरुवा गराए । आफ्नो स्वार्थमा काम गर्न नमानेपछि प्रशासन क्षेत्रमा योग्य मानिएका कोइरालासमेत आलेको लागि मन पर्ने कर्मचारी भएनन् । 

उनको स्वार्थ थियो – पर्यटन बोर्डलगायत विभिन्न ठाउँमा कार्यालय प्रमुख फेर्नु । यसमा कोइरालाले साथ दिएनन् । किनभने कानून र विधि बाहिर कोइराला जान चाहेनन् । त्यसपछि उनले एमालेसँग निकट मानिएका सचिव महेश्वर न्यौपानेलाई पर्यटनमा ल्याए । केपी शर्मा ओलीको शासनकालमा २ वर्षभन्दा बढी समय न्यौपाने गृहसचिव भएका थिए । न्यौपाने एमालेका नेता महेश बस्नेतसँग निकट मानिन्छन् । 

‘बरु एमालेसँग निकट मानिएका न्यौपाने आलेको लागि मन पर्ने कर्मचारी भए । तर योग्य र काबिल मानिएका कोइराला उहाँको लागि मन परेन’ पर्यटन मन्त्रालयका एक कर्मचारी भन्छन् । 
आलेले नेपाल वायु सेवा निगमको कार्यकारी सहितको अध्यक्षमा युवराज अधिकारीलाई ल्याएका छन् । निगमका अध्यक्ष सुशिल घिमिरेले राजीनामा गरेपछि अधिकारीलाई कार्यकारी अधिकार सहितको अध्यक्ष पदमा ल्याउन बाटो खुला भएको हो । त्यहाँ कार्यरत दिमप्रकाश पौडेललाई उनले मन्त्रालयमा ल्याए । 

केही महिनाभित्रै अवकाश पाउन लागेका राजकुमार क्षेत्रीलाई उनले नागरिक उड्डयन प्राधिकरणको महाप्रवन्धक बनाए । आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका कार्यालय प्रमुख प्रतापबाबु तिवारीलाई अनेक तरिका अपनाइ त्यहाँबाट हटाए । उनको ठाउँमा भोला गुरागाईलाई ल्याएका छन् ।
  
अब आलेको तारो पर्यटन बोर्डको कार्यकारी अधिकृत धनञ्जय रेग्मी परेका छन् । रेग्मीलाई जसरी पनि हटाउनु उनको एक मात्र उद्धेश्य हो । स्रोत भन्छ, रेग्मीलाई हटाउन मन्त्री आलेले पर्यटन सचिव न्यौपानेलाई शर्त नै राखेका छन् । पर्यटन बोर्डको बोर्ड प्रमुख पर्यटन सचिव हुने कानुनमा व्यवस्था गरेको छ । 

मन्त्रीको चाहनाअनुसार सचिव न्यौपानेले शुक्रबार बैठक बोलाइ रेग्मीलाई निलम्बन गर्न लगाए । रेग्मीको ठाउँमा नन्दिनी थापालाई जिम्मेवारी दिएका छन् । बोर्डका एक जना कर्मचारी भन्छन्, ‘बोर्डको कार्यकारी अधिकृतमा नियुक्ति दिन पर्यटनमन्त्री आलेले पहिले नै कसैलाई आश्वासन दिइसकेका छन् । यो सबै प्रक्रिया पूरा गरिएको मात्र हो ।’

झलनाथ खनाल प्रधानमन्त्री भएको बेला राज्यमन्त्री बनेका र निकै विवादास्पद छवि बनाएका ल्हारकेल लामालाई पर्यटनमन्त्री आलेले लुम्बिनी विकास कोषमा ल्याउन तयारी गरेको पर्यटन मन्त्रालय स्रोतले बतायो । 

लुम्बिनी विकास कोषमा एक जना सदस्य पद खाली छ । स्रोतले भन्यो, ‘ल्हारकेललाई लुम्बिनीमा ल्याउन आलेले आश्वासन दिइसकेका छन् । ल्हारकेलको चाहना पनि त्यही हो ।’ एक दुई दिनमै ल्हारकेललाई नियुक्ति गर्ने तयारी भएको स्रोतले बतायो ।
 
पर्यटन मन्त्री आलेले तारा गाउँ विकास समितिमा आफ्ना मान्छे ल्याउन तयारी अवस्थामा राखेका छन् । विकास समितिका सदस्यसचिव झविन्द्र ज्ञवालीलाई राजीनामा गर्न लगाए पछि आलेलाई बाटो खुला भएको छ । 

स्रोत भन्छ, ‘अहिले उनले भानुभक्त विकास समितिमा पनि आँखा लगाएका छन् । त्यहाँ पनि आफ्नो मान्छे भर्ना गर्न उनले तयारी अवस्थामा राखेका छन् ।’  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ