कुमारी बैङ्कको मोबाइल एप्स् मार्फत फोनपे नेटवर्कमा किस्ताबन्दीमा रकम भुक्तानी गर्न सकिने
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
800
Shares
काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको नेटवर्कमा कुमारी बैङ्कको मोबाइल एप्स् मार्फत किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ। एफवानसफ्ट, फोनपे र कुमारी बैकको सहकार्यमा कुमारी बैङ्कका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो।
यस सुविधामा कुमारी बैङ्कमा खाता रहेका ग्राहकले क्युआर मार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ता बन्दीमा रकम भुक्तानी गर्न सकिनेछ। यो सुविधाका लागि ग्राहकले कुमारी बैङ्कको फोनलोन सुविधाका लागि योग्य भएको हुनुपर्नेछ। कुमारी बैङ्कको मोबाइल एप्स् मार्फत क्युआर भुक्तानी गर्दा किस्ताबन्दीमा भुक्तानी गर्ने अथवा तत्काल भुक्तानी गर्ने भन्ने अप्सन देखाउनेछ। उक्त अप्सन मार्फत ग्राहकले इएमआई मार्फत समेत भुक्तानी गर्न सक्नेछन्। मर्चेन्टलाई भने कुमारी बैङ्कले तत्कालै रकम भुक्तानी दिनेछ भने ग्राहकले किस्ताबन्दीमा तिर्न सक्नेछन्।
एफ वान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा कुमारी बैङ्कले गत वर्षदेखि फोनलोन सेवा समेत सुरु गरेको थियो। अहिले फोनपेको क्युआर मार्फत उक्त सेवाको लोकप्रियतालाई ध्यानमा राखेर इएमआईसहितको भुक्तानी सेवा सुरु गरिएको हो।
फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म ५ लाख भन्दा बढी मर्चेन्ट रहेका छन्। एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैङ्किङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स् मार्फत यसले सेवा प्रदान गर्दै आएको छ। फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’पिसिआई डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो।