कुमारी बैङ्क लिमिटेडलाई आईएसओ-आईईसी २७००१:२०२२ सूचना सुरक्षा प्रमाणपत्र प्राप्त
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
610
Shares
काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ-आईईसी २७००१:२०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणाली (इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम्स – आईएसएमएस) प्रमाणपत्र प्राप्त गरेको छ। यस प्रमाणपत्रले बैङ्कको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको देखाउँछ।
आईएसओ-आईईसी २७००१:२०२२, इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम्स (आईएसएमएस) मा मूलतः ९३ वटा नियन्त्रणहरू हुन्छन्, जसलाई अर्गनाइजेसनल (३७), पिपुल (८), फिजिकल (१४) / टेक्नोलोजिकल (३४) मा विभाजन गरिएको हुन्छ। यी नियन्त्रणहरू कार्यान्वयन भए नभएको स्वतन्त्र बाह्य अडिटमार्फत सुनिश्चित गरी आईएसओ-आईईसी २७००१:२०२२ प्रमाणपत्र प्रदान गरिन्छ।
यस प्रमाणपत्रले बैङ्कको सूचना सुरक्षा जोखिम पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्ने राम्रो क्षमता रहेको र सो अन्तर्राष्ट्रिय मापदण्डबमोजिम रहेको सुनिश्चित गर्दछ। साथै, यस प्रमाणपत्रमार्फत बैङ्कले ग्राहकहरूको तथ्याङ्क सुरक्षित तथा गोप्य राखेको, आवश्यक परेको बेला उपलब्ध गराउने, अनधिकृत पहुँचबाट जोगाउने गरेको र सुदृढ सुरक्षा प्रणाली कार्यान्वयन गरिरहेको छ भनी प्रमाणित गर् । डिजिटल बैङ्किङ सेवाहरूको तीव्र विस्तारसँगै साइबर सुरक्षा र डाटा गोपनीयता ग्राहक तथा सरोकारवालाहरूको प्रमुख चासोको विषय बनेको अवस्थामा यस बैङ्कले मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, कार्ड सेवा तथा आन्तरिक प्रणालीहरूमा उच्चस्तरीय सुरक्षा मापदण्डहरू लागू गरेको छ।
यस अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले भने, “ग्राहकको विश्वास नै बैङ्किङ सेवाको आधार हो। आईएसओ-आईईसी २७००१:२०२२ प्रमाणपत्र प्राप्त गर्नु ग्राहकको वित्तीय सूचनाको सुरक्षाप्रति हाम्रो दृढ प्रतिबद्धताको प्रतिविम्ब हो। सुरक्षित र विश्वसनीय बैङ्किङ वातावरण प्रदान गर्न हामी प्रविधि, जनशक्ति र प्रक्रियामा निरन्तर लगानी गर्दै जानेछौँ।”
बैङ्कले नियमित जोखिम मूल्याङ्कन, कर्मचारी सचेतना कार्यक्रम, सुरक्षा परीक्षण तथा निरन्तर निगरानी प्रणालीमार्फत सम्भावित साइबर जोखिमहरूको रोकथाम, पहिचान तथा व्यवस्थापन गर्ने संरचना कार्यान्वयन गर्दै आएको छ।
बैङ्कले सूचना सुरक्षा एक पटकको उपलब्धि नभई निरन्तर सुधारको प्रक्रिया भएको र आगामी दिनहरूमा पनि नियामक मापदण्ड तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू अनुरूप आफ्ना सुरक्षा संयन्त्रहरू थप सुदृढ गर्दै जाने प्रतिबद्धता जनाएको छ।