arrow

मेलम्ची खानेपानी आयोजनाको आयोजनास्थलसम्म खोलियो सडक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
melamchi--water-supply.png

काठमाडौं । मेलम्चीको पानी अस्थायी संरचनामार्फत ल्याउनका लागि आयोजनास्थलसम्म सडक खोलिएको छ । वर्षाका कारण अवरुद्ध भएको सडक मेलम्ची खानेपानी विकास समितिले स्थानीय पालिकासँगको समन्वयमा अस्थायीरूपमा मर्मत गरेको हो । 

अहिले तत्काल नै आवश्यक उपकरण र सवारीसधन लैजान अस्थायीरूपमा सडक निर्माण गरिएको समितिले जनाएको छ । अहिले निर्माण भएको सडक आगामी वर्ष नै बाढीले क्षतिग्रस्त गर्नसक्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । 

उनका अनुसार तत्काल अस्थायीरूपमा पानी चलाउन सडक निर्माण गरिएको हो  । अहिले निर्माण भएका सडक र पुल दुवै तत्कालका लागि र अस्थायी प्रकृतिको भएको उनले बताए । उनले भने, 'अहिले भर्खर आयोजनाका संरचना मर्मत गरेर सञ्चालन गर्न मात्रै सडक खोलिएको हो ।'

आयोजनाका लागि र स्थानीयवासीका लागि पनि सडक दीर्घकालीन रुपमा निर्माण गर्न आवश्यक छ । आयोजनास्थलभन्दा माथिल्लो क्षेत्रबाट पहिरोको जोखिम रहेकाले त्यसको अध्ययन भइरहेको छ । आयोजनामा सहयोग गरेको दातृ संस्था एशियाली विकास बैंकले खानेपानी मन्त्रालयसँगको समन्वयमा अध्ययन गरिरहेको छ । अध्ययनका प्रतिवेदन आएपछि त्यसकै आधारमा दीर्घकालीन रुपमा सडक र पुल निर्माणमा जानुपर्ने उनको भनाइ छ । उनले भने, 'माथिल्लो क्षेत्रको अध्ययन सकिएपछि हामीले अर्काे वर्षा पहिले नै स्थायी निर्माणमा जानुपर्छ ।'

अध्ययन प्रतिवेदन आएपछि त्यसैका आधारमा कति माथिबाट सडक र पुल निर्माण गर्न आवश्यक छ भनी टुङ्गो लाग्ने सूचना अधिकारी पन्तले बताए । दातृ निकायको अध्ययन टोलीले गरेको अध्ययनमा आगामी वर्ष पनि बाढी आउनसक्ने देखिएको छ । 

अध्ययनको अन्तिम प्रतिवेदनका आधारमा मात्रै स्थायी संरचनाका निर्माणको योजना बनाउन सकिने उनले बताए । उनले भने, 'अहिले तत्काल हामीले आयोजनाका लागि ठूलो खर्च नगरेर अस्थायी रुपबाट पानी ल्याउन काम गरेका छौँ ।' 

सो सडक आयोजनास्थलमा पुग्नका लागि मात्रै नभएर स्थानीयबासीका लागि पनि आवश्यक छ । गत असार १ गते मेलम्ची नदीमा आएको बाढीका कारण सडकमा क्षति पुगेको थियो । कतिपय ठाउँमा नदीले सडक नै कटान गरेकाले मर्मतमा लामो समय लागेको थियो । मङ्सिरको पहिलो साता आएको बाढीले थप क्षति पुर्‍याएको सडक तत्कालका लागि खुलाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ