दुम्सी पाखाका दराईहरु : पण्डित, पुरेत, लामा सबै काम ज्वाइँबाट
पाम सुनुवार,
प्रकाशित २०७८ मंसिर २९ बुधबार
498
Shares
पहेँलो तथा निलो पटुकी, सुनको हार र चाँदीका गहना शिरमा शिर फूल, नाकमा ढुङ्ग्री लगाएका एक हुल महिलाहरू बाटैमा भेटिए । उनीहरू मध्ये धेरैले रातो र केहीले कालो ब्लाउज लगाएका थिए । महिलाहरूको हूलमा नै केही पुरुषहरूले भने सेतो कछाड, माथि भोटो, कम्मरमा खुर्पेटो, खुकुरी र सिरमा भादगाउँले टोपी लगाएका देखिन्थे ।
यो दृश्य तनहुँस्थित दुम्सी पाखाको हो । उनीहरू अरू कोही नभएर आदिवासी जनजातिमा सूचिकृत दराईहरु हुन् । पछिल्लो समयमा दराई समुदायको आफ्नो जातीय पोसाक र पहिचान लोप हुन लागे पछि गाउँमा कोही नौलो मान्छे पुगे भने यसरी आफ्नो भेसभुसामा सजिएर स्वागत गर्ने परम्परा बसालेका छन् दुम्कीपाखाका दराईंहरुले ।
'आदिवासी जनजाति दराईहरुको संस्कार संस्कृति तथा पहिचान फरक भए पनि अति हिन्दूकरण र विश्वव्यापीकरणले यी सबै मासिन लागेकाले पहिचान पुन स्थापित गर्न यस्तो अभियान सुरु गरेका हौ,' दराई समाज उत्थान सङ्घका केन्द्रीय सहसचिव यम बहादुर दराईले भने –दराईहरुको सङ्ख्या थोरै छ । हामी अल्पसङ्ख्यक हौ । दराईहरु चितवन, गोरखा, धादिङ, पाल्पा, नवलपरासी र बदिर्यामा दराईहरुको बसोबास गर्दछन् ।
याम बहादुर दराईको भनाइमा सही थप्दै तनहुँ दम्कीपाखाकै स्थानीय शान्ति दराई आफ्नो नेप्टो नाक, प्रचलित भेषभुषा भाषा नै पहिचानको विषय भएको बताउँछन् । उनले थपे 'सबै पहिचान जनित संस्कारहरू हराउँदै गएका कारण आफ्नो भेषभुषा संस्कार संस्कृतिको संरक्षण गर्नुपर्छ भनेर अघि बढेका छौँ ।'
उता तनहुँकै दराई अगुवा वीर बहादुर दराईको बिचारमा दराईहरुमा सामाजिक तथा सांस्कृतिक अतिक्रमण मात्र होइन रोजगारी लगायतका समस्या पनि चर्को रूपमा छ । तनहुँ जिल्लाको दमौली वरिपरिका समथल भूभागमा बसोबास गर्ने र नदीको वरिपरि बस्ने दराई जातिहरूको परम्परागत पेसा पनि लोप भएको छ । उनले भने 'माछा मार्ने दराईहरुको पुर्ख्यौली पेसा र सीप हो । दराईको बस्ती नदी किनारा र खोला छेउमा रहनुको कारण पनि यही हो । तर आज भोलि यसको अभ्यास नै हराएको छ ।'
२०६८ को जनगणना अनुसार दराईको जनसङ्ख्या १७ हजार ८ सय ७९ रहेको छ । आफ्नो मौलिक पहिचानमा आधारित भेषभुषा, भाषा तथा संस्कृति बोकेका आदिवासी दराई हरूको थतथलो तनहुँमा रहेको अभियन्ता याम बहादुर रहेको दावी छ ।
आदिवासी दराई हरूको आफ्ना परम्परागत पैतृक भूभाग, भूमि भए पनि अहिले अतिक्रमणमा परेको छ । युगौँ देखि प्राकृतिक स्रोत जल, जमिन र जङ्गलसँग निकट भएर विशिष्ट प्रकारका ज्ञान र सीपको प्रयोग गर्ने अवसरबाट उनीहरू सधैँ वञ्चितमा परेका छन् । उनीहरूले प्रयोग गरिरहेको बन राष्ट्रियकरण भएका छन् । उनीहरूले हुर्काएको बन कतै सामुदायिक बनका नाममा अरूले नै राज गरेका छन् ।
याम बहादुर दराईको भनाइमा बनका स्रोतको प्रयोग गर्न कै लागि पनि अरूसँग अनुमति लिनुपर्ने बाध्यता छ । जलजन्य स्रोतमा पनि स्थानीय तहले निषेध गरेको छ । निकुञ्ज क्षेत्रको नदीमा माछा मार्न नपाइने भएकाले दराई युवाहरु माछा मार्ने काम पनि गर्दैनन् । यस कारण दराई समाजमा बेरोजगारीको ठुलो समस्या छ ।
'सबै बेरोजगार छन् रोजगारी छैन । सीमान्तकृत र अति पिछडिएको जातिको रूपमा छौ ।' दराई समाजका सहसचिव याम बहादुर दराई ले भन्नु भयो –दराई जातिको उत्थानको लागि आर्थिक रूपमा सांस्कृतिक, धार्मिक रूपमा कार्यक्रमको माग गरेका छौ । त्यसो त दराईहरुको परम्परागत पेसा मासिँदै गएको भए पनि केही सीपहरू संरक्षणमा रहेको दराई अगुवाहरूको भनाई छ । 'केही सिपहरू अहिले पनि निरन्तरता दिइरहेका छौ । किनभने त्यसको समयअनुसारको माग बढ्दै गएको छ ।'
स्थानीय वीर बहादुर दराईले थपे 'दराई गुन्द्री नौलो खालको छ । अरूलाई उपहार दिँदा पनि काम लाग्ने र मर्दापर्दा पनि संस्कृतिसँग पनि सम्बन्धित भएको कारण केही कुराहरू जोगिइरहेको पनि छ । छोडिसकेको चाडपर्वहरू पनि हामीले जोगाउनुपर्छ भनेर २०४७ सालपछि यस्तो अभियान चलाएकोले केही कुराहरू जोगिएको छ ।'
दराईहरू प्रकृति पूजक हुन् । सामान्यता आदिवासीहरूको आध्यात्मिक विश्वास नै आदिवासीहरूको धार्मिक मान्यता हो । आदिवासी दराई समाजमा पनि यस्तै मान्यता छ ।
स्थानीय आसा दराईको भनाइमा दराईहरु प्रकृति पूजक हुन् । तर दराई संस्कार बौद्ध धर्मसँगै मिल्दोजुल्दो छ । उनले भने 'विवाहमा पण्डित वा पुरेत लगाउने चलन छैन । बालबालिकाको न्वारनमा पनि ज्वाइँबाट चोखिने प्रचलन छ । कसै मृत्यु भएको खण्डमा ज्वाइँबाट नै चोखिने काम हुन्छ ।'
यसैमा शान्ति दराईको भनाइ थियो 'दराई को पण्डित, पुरेत, लामा वा कुनै पनि गुरु हुँदैनन् । सबै काम ज्वाइँ चेला वा कुटुम्बबाट सम्पन्न हुन्छ ।'
विवाह पनि दराईकै बीचमा हुन्छ । दराई भित्रको पनि थर फरक बिच विहेबारी चल्छ फुपूमामा चेला बीच विवाह हुँदैन । फरक थर भएका दराईसंग मात्र विवाह गर्नुपर्छ । विवाह गर्दा मामा नै चाहिन्छ । दराई गीतलाई सहरै भनिन्छ । यो गीत चाही हाम्रो लागि महत्त्वपूर्ण छ । सहरै गीतमा नै मृत्यु तथा उत्सवका गीतहरू छन् ।
(साभार: इन्डिजिनियस फिचर सेवा)