सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना हटाउन ३५ दिने अल्टिमेटम
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
465
Shares
काठमाडौँ । तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा नियमविपरीत निर्माण गरिएका भौतिक संरचनाहरू हटाउन नगरपालिकाले कडा कदम चालेको छ। नगरपालिकाले सोमबार एक सूचना प्रकाशित गर्दै सडक अधिकार क्षेत्र (राइट अफ वे) तथा सडकपेटी अवरुद्ध हुने गरी बनाइएका पक्की संरचना, बरन्डा र टिनका टहराहरू हटाउन आग्रह गरेको हो।
नगर कार्यपालिकाको जेठ २२ गते बसेको २३८ औँ बैठकको निर्णयअनुसार उक्त संरचनाहरू हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरिएको नगरपालिकाका इन्जिनियर अमृत केसीले जानकारी दिए। यस तोकिएको अवधिभित्र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचनाहरू सम्बन्धित घरधनी आफैँले भत्काएर नगरको सौन्दर्यीकरण र व्यवस्थापनमा सहयोग गरिदिन नगरपालिकाले अनुरोध गरेको छ।
यदि तोकिएको समय सीमाभित्र संरचनाहरू नहटाए प्रचलित कानुनबमोजिम नगरपालिका आफैँले आवश्यक प्रक्रिया पूरा गरी त्यस्ता अवैध संरचनाहरू भत्काउने सूचनामा उल्लेख छ। यसरी नगरपालिकाले संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्तिबाटै असुलउपर गरिने सङ्केत गरिएको छ।
इन्जिनियर केसीले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्नु प्रत्येक नगरवासीको साझा कर्तव्य भएको उल्लेख गर्दै कानुनको पालना गरी आफैँ त्यस्ता संरचना हटाउन सम्बन्धित घरधनी तथा सरोकारवालाहरूलाई आग्रह गरेका छन्। नगरपालिकाको यस कदमले बजार क्षेत्रको सडकपेटी सहज हुने र सार्वजनिक जग्गाको संरक्षणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।