सेतीखोलामा बेपत्ता टेकबहादुर तीन दिनसम्म फेला परेनन्, गोताखोर टोली परिचालन
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
858
Shares
काठमाडौँ । तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका ४४ वर्षीय टेकबहादुर सप्लाङ्गी तीन दिन बितिसक्दा पनि फेला पर्न सकेका छैनन्। आइतबार दिउँसो जाल हान्ने क्रममा चिप्लिएर खोलाको दहमा रहेको भुमरीमा परी उनी बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भिमाद नगरपालिका–५ आँमडाँडा तुतुवा निवासी सप्लाङ्गी बेपत्ता भएको जानकारी पाएलगत्तै आइतबारदेखि नै स्थानीय बासिन्दा र प्रहरीले खोजी सुरु गरेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले घटनास्थल र आसपासका क्षेत्रमा व्यापक खोजी गरिए पनि हालसम्म कुनै पत्तो नलागेको बताए।
सप्लाङ्गी खोलामा जाल हान्ने क्रममा अचानक सन्तुलन गुमाएर दहको भुमरीमा परी बेपत्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनलाई फेला पार्न पोखराबाट आएको सशस्त्र प्रहरी बलको गोताखोर टोली, नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।