एमसीसी प्रस्ताव एमालेले समर्थन गर्ला कि चीनको दबाबले अस्वीकार ?
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
923
Shares
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग बधाई दिने बहानामा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति अन्तर्गतको अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) का उपमन्त्री चेन चाओले पनि सोमबार फोन गरेर एमसीसीलाई पेश नगर्न दबाब दिएका थिए । उनले दबाब दिएको भोलिपल्ट मंगलबार नेपालमा ६ वटा कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले अमेरिकी सहयोग परियोजना (एमसीसी) तत्काल फिर्ता नलिए वा खारेज नगरे आगामी दिनमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
एमालेले एमसीसीप्रति नरम नीति लिएको बेलामा नेत्रविक्रम चन्द ‘विप्लव’, मोहनविक्रम सिंह, मोहन वैद्य लगायतका ६ दल र दुई मोर्चाले एमसीसीलाई अमेरिकी सरकारले फिर्ता नलिए र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज नगरे आगामी दिनमा कडा आन्दोनलको घोषणा गर्ने चेतावनी दिएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी नजिक रहेका सबै दलले यो विषयमा समर्थन जनाएका थिए । चिनियाँ कम्युनिष्ट पार्टी नजिक रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी तुहाउन खोजिरहेका छन् ।
उनीहरुले एमसीसीको विरोध गरिरहेका बेला चीन सरकारकै तर्फबाट राजनीतिक दलहरुलाई दबाब आएको हो । सोमबार एमालेका महासचिव पोखरेलसँग कुराकानी गरेका चिनियाँ उपमन्त्री चाओले एमसीसीबारे पुनर्विचार गर्न अग्रह गरेको स्रोतले जनाएको छ ।
एमाले महासचिव पोखरेलसँगको कुराकानीमा उपमन्त्री चाओले नेपालमा संसद् बस्न लागेको र बैठकमा एमसीसी र अन्य प्रस्तावमा पुनर्विचार गर्नका लागि नेपाली कांग्रेस, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएको जानकारी गराएका थिए ।
यो विषयमा समाजवादीका नेताहरुले चिनियाँ नेताहरुसँग एमसीसीबारे कुराकानी भएको स्वीकार गरेका छन् । ‘हाम्रो पार्टीका अध्यक्षसँग चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुको कुराकानी भएको छ एमसीसीबारे गठबन्धनमा सहभागी दलहरुसँग छलफल भएपछि मात्रै संसदमा पेश हुनेछ’, नेकपा एसका एक स्थायी कमिटी सदस्यले भने ।
एमालले भने आफ्नो धारणा सार्वजनिक गरेको छैन । एमालेका नेता डा. भीमबहादुर रावल एमसीसीका विरोधी हुन् । त्यस्तै माओवादी केन्द्रभित्र पनि यसको चर्को विरोध भैरहेको छ । कृष्णबहादुर महरा, सभामुख अग्नि सपाकोटा, देव गुरुङ, लिलामणी पोखरेल लगायतका दर्जन नेताहरु एमसीसीको विरोधमा रहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा पेश गर्ने तयारी गरेको भन्दै सभामुख सापकोटाले त आफू राजीनामा दिन तयार भएको तर एमसीसी संसदमा पेश नगर्ने भन्दै पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवा दुवैलाई सन्देश पठाएका थिए ।
तर प्रधानमन्त्री देउवाले संसदमा एमसीसी पेश गर्ने जनाएका थिए । एमालले भने संसदमा पेश भएपछि आफ्नो धारणा सार्वजनिक भए पनि दोस्रो केन्द्रीय कमिटीको बैठकमा भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामलाई निरन्तर दिनुपर्ने हुन सक्ने र अघिल्लो सरकारको पछिल्लो सरकार अविछिन्न उत्तराधिकारी हुने बताउँदै एमसीसीबारे सकारात्मक धारणा राखेका थिए ।