कांग्रेस बैठक : कांग्रेसको कोषमा १० करोड रुपैयाँ मौज्दात, पदाधिकारी थप्ने प्रस्ताव रोकियो
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
808
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको अन्तिम तयारी भइरहेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले व्यवस्थित र मर्यादित रुपमा उद्घाटन गर्नेगरी तयारी भइरहेको जानकारी दिए ।
विहीबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले शुक्रबार दिउँसो २ बजे उदघाटन सत्र शुरु हुने जानकारी दिए ।
बैठकमा कोषाध्यक्ष सीतादेवी यादवको लेखासम्बन्धी प्रतिवेदन पारित भएको उनले जनाए । यादवले कांग्रेसको कोषमा १० करोड रुपैयाँ मौज्दात रहेको जानकारी दिएको पनि शर्माले उल्लेख गरे ।
बैठकमा महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित भएको छ । महामन्त्रीद्वयको तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले सांगठानिक प्रतिवेदन पेस गरेका थिए ।
महाधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता साथै भारतबाट भारतीय जनता पार्टी र कंग्रेस आइका चार जना नेता विहीबार नै काठमाडौं आउने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै बैठकमा नेता रामचन्द्र पौडेल अनुपस्थित रहेको पनि प्रवक्ता शर्माले बताए ।
बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाउने प्रस्ताव लैजाने तयारी भएको चर्चा गरिए पनि त्यस्तो प्रस्ताव नलगिएको जानकारी दिइयो । बैठकले यसअघि भएका विधानमा बाधा अड्काउ फुकाउ, विधानको केही धारा निलम्बन गरेको निर्णयलाई बैठकले अनुमोदन गरेको छ ।