arrow

युवा लेखक तथा विश्लेषक शङ्कर तिवारीको ‘कसले सुधार्छ कांग्रेस’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
shanker-tiwari-book.jpg

काठमाडौं । लेखक तथा राजनीतिक विश्लेषक शङ्कर तिवारीको ‘कसले सुधार्छ कांग्रेस’ पुस्तक विमोचन गरिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार यहाँ आयोजित कार्यक्रममा कांग्रेसका युवानेता गगनकुमार थापाले उक्त पुस्तक विमोचन गरे ।

कार्यक्रममा नेता थापाले महाधिवेशनको पूर्वसन्ध्यामा गरिएको पुस्तक विमोचनले महाधिवेशनमा छलफल र बहस हुने बताए । उनले कांग्रेस कसले सुधार्छ भन्दा पनि कांग्रेस सुध्रिएन भने के हुन्छ भन्ने प्रश्नचिह्न खडा भएको बताए ।

कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले विधानको अक्षरश पालना, नियमित बैठक, समसाययिक विचार र वित्त व्यवस्थापन गर्ने नेतृत्वले मात्र कांग्रेस सुधार गर्न सक्ने बताए । ‘पार्टी सुध्रिए राजनीति सुध्रिन्छ, राजनीति सुध्रिए देश सुध्रिन्छ’ उनले भने ।

राजनीतिक विश्लेषक पुरन्जन आचार्यले विचार, सङ्गठन र नेतृत्वको समिश्रणबाट पार्टी चल्नुपर्ने बताए । विचार र नीति शून्य भयो भने पार्टी बिग्रिने उनको भनाइ थियो । उनले कसले सुधार्छ कांग्रेसभन्दा पनि कसले बिगार्‍यो कांग्रेस भन्नेबारे खोज्नुपर्ने बेला भएको बताए ।

नेपाली कांग्रेस लुम्बिनीका नवनिर्वाचित सहमहामन्त्री निमा गिरीले विधानको प्रयोग संस्थागत गर्ने नेतृत्व कांग्रेसलाई आवश्यक रहेको बताइन । कांग्रेसभित्र महाधिवेशनको समयमा किन क्रियाशील सदस्यता विवाद हुन्छ यसलाई समयमा नै टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो ।

कांग्रेस बर्दियाका पूर्वसभापति सञ्जय गौतम, नेविसङ्घका महामन्त्री युवराज पाण्डेयलगायतले पार्टीको क्रियाशील सदस्यता वितरणमा जिल्ला सभापतिलाई अधिकार नदिँदा अहिलेको अवस्था आएको बताएका थिए । विद्यार्थी नेता डिल्लीराम सुवेदीले संचालन गरेको कार्यक्रममा पब्लिक पोलेसी पाठशालाका प्रमुख प्रताप पौडेलले लेखक तिवारीको लेखन यात्रा र पुस्तकका बारेमा बोलेका थिए ।

अमेरिकामा अध्ययन गरिरहेका तिवारीले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी पनि घोषणा गरेका छन् । महाधिवेशन पूर्व स्वदेश फर्किएर राजनीतिमा सक्रिय देखिएका तिवारी विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा स्थापित हुने तरखरमा छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ