arrow

स्थानीय तहले चिन्न नसकेको "ढाक्रेबास"

logo
नारायण वली,
प्रकाशित २०७८ मंसिर ११ शनिबार
dhakrebasss.png

रुपन्देही । ‘ढाक्रेबास’ एउटा ठाउँको नाम हो । सुन्दा अनौठो लाग्ने नाम । ऐतिहासिक, महत्वपूर्ण मानिन्छ। सो ठाउँ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा–११ मन्द्रहानीमा पर्दछ ।

आजभन्दा झण्डै २ सय वर्ष अगाडि उक्त ठाउँमा ढाग्रेहरु बास बस्ने र विश्राम गर्ने ठाउँ भएकाले सो ठाउँलाई ढाक्रेबास नामाकरण गरिएको स्थानीय वयोवृद्ध एवं पूर्वगाविस अध्यक्ष पुर्न वासी (चौधरी) बताउँछन् ।

उनले भने, ‘ढाक्रे भन्नाले पहिले भारतबाट तिब्बतसम्म समान बोकेर ओहोर दोहोर गराउने भरियाहरुलाई भनिन्थ्यो । त्यो बेलामा सवारी साधन र सडक थिएन, उनीहरुले नै सामान बोकेर ढुवानी गर्थे । त्यही क्रममा यहाँ बास बस्ने र मन्द्रहानीमा रहेको भगवान बुद्धको मावली कुँवरवर्ती मन्दिरमा दर्शन गरेर सेमरा बजार गर्थे । कुमाल जातिको बसोबास रहेको र उनीहरुले बनाएका घरका अवशेष अझै पनि कहिँकतै फेला पर्ने गरेको पूर्वअध्यक्ष चौधरीको भनाइ छ ।

स्वच्छ, शान्त र एकान्त हरियाली वन नजिक, सुखौरा खोलातिरमा रहेको ढाक्रेवास खुल्ला चौरमा छ । पर्यटकीय स्थल मध्येको एउटा नमूना बनाउन सकिने सम्भावना रहेको ढाक्रेवासलाई स्थानीय तहले चिन्न नसकेको गुनासो स्थानीयहरुको छ । 

जसलाई संरक्षण एवं प्रर्बद्धन गर्न सकेमा मिनी सौराहा बनाउन सकिने स्थानीय मोहनलाल ज्ञवालीले बताए ।

करिब एक सय विगाहा क्षेत्रफल रहेको ढाक्रेबास करिब ३० बिगाहा क्षेत्रफल स्थानीयद्धारा अतिक्रमण, ७० बिगाहामा तटीय क्षेत्र पर्दछ । जसमा नदिजन्य पदार्थको उत्खननले खोलाको धार परिवर्तन हुँदा खोला वारिपारि गरी २० बिगाहा कटान भएको छ। अहिले अनुमानित बाँकी ५० रहेको बताउँदै स्थानीयले नगरपालिकाले ८ लाख लागतमा करिब ८ बिगाहा क्षेत्रफलमा तारवार गरेको बताएका छन् ।

स्थानीय युवाहरुले खेलकुदका लागि भन्दै केही क्षेत्र सहमतिमा संरक्षण गर्दै आएका छन् । वेवारिसे अवस्थामा जस्तै पुगेको र अतिक्रमणको सम्भावना बढ्न थालेपछि स्थानीयहरुको आलोचना बढेपछि बाँकी करिब ४ विगाहा क्षेत्रफललाई स्थानीय तहले तारवार गरेको छ । 

लागु भएन क्लिन तिलोत्तमा अवधारणा
तिलोत्तमा नगरपालिकाले नगरलाई ग्रिन र क्लिन बनाउनका लागि ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’को अवधारणा ल्याए पनि नगरभित्र पर्ने ऐतिहासिक महत्व बोकेको ढाक्रेबासमा भने सो अवधारणाले छोएन ।

नगरभित्र पर्ने मुख्य सिद्धार्थ राजमार्गलाई विशेष गरी सफाई अभियानमा सक्रियता देखाएको नगरपालिकाले ढाक्रेबासको तारवार क्षेत्रभित्र फोहोर देख्न सकिन्छ । स्थानीय भन्छन्, ‘क्लिन तिलोत्तमाको नारा लागु नहुनुको कारण नगरले यो ठाउँलाई उपेक्षा गर्न खोजेको हो ।’

ऐतिहासिक पोखरीमा वडा कार्यालय
तिलोत्तमा वडा–११ मन्द्रहानीमा एउटा ऐतिहासिक पोखरी छ । जुन पोखरी स्थानीयहरुको चपेटामा परेर सानो बन्न पुगेको छ । नक्सामा ७८९ कित्ता नं हेर्न सकिन्छ । 

पुरातत्व विभागले उक्त ऐतिहासिक पोखरीभित्र कुनै पनि भौतिक संरचना नबनाउन र उत्खनन् गर्नुपर्ने उल्लेख भन्दै तिलोत्तमा नगरपालिकालाई पत्राचार गरे पनि नगरपालिकाले भने उक्त पत्रलाई बेवास्ता गर्दै पोखरीभित्र वडा नं ११ को कार्यालय निर्माण गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ